समाचारसोमबार, आश्विन ११, २०७२
संसदीय कार्यदलले टीकापुर घटनाको प्रतिवेदन बुझायो
एसएसपीसहित ८ जना मारिएको कैलालीको टीकापुर घटनाको स्थलगत अध्ययन प्रतिवेदन संसदमा बुझाइएको छ ।
७ भदौमा भएको घटनाको स्थलगत अध्ययन–अवलोकन गर्न गठन भएको संसदीय कार्यदलले लिखित प्रतिवेदन सामाजिक न्याय तथा मावन अधिकार समितिसमक्ष पेस गरेको हो ।
समितिको बैठकमा कार्यदलका संयोजक जीवन श्रेष्ठले उक्त घटनामा मानव अधिकार हनन् सम्बन्धमा तयार पारिएको अध्ययन प्रतिवेदन प्रस्तुत गरे ।
कार्यदलले टीकापुर घटनालाई अकल्पनीय, निन्दनीय, दुखदायी, अमानवीय तथा हिंसात्मक घटनाको सङ्ज्ञा दिएको छ ।
घटना हुने अघिल्लो दिन जिल्ला सदरमुकाममा सर्वदलीय बैठक बसी कुनै समूहको विरोध प्रदर्शनमा कोही कसैबाट अवरोध नगर्ने र सभा सम्मेलन शान्तिपूर्ण गर्ने सहमति भएको थियो ।
तर, आन्दोलनकारीले त्यसको विपरीत वरिष्ठ प्रहरी उपरीक्षकसहित सात सुरक्षाकर्मी नियन्त्रणमा लिएर तथा एक नाबालकलाई गोली प्रहार गरी हत्या गरेका थिए । घटनामा गम्भीर घाइते भएका एकजना सुरक्षाकर्मीको उपचारका क्रममा निधन भएको थियो ।