समाचारसोमबार, आश्विन ११, २०७२

कोटा प्रणाली सुरु, ४०२ वटा पेट्रोलियम ट्याङ्कर भारतीय सीमामा रोकिए

हिमालखबर

नेपाल आयल निगमले मौज्दात रहेको पेट्रोलियम पदार्थको आपूर्तिलाई व्यवस्थित तुल्याउन तथा न्यायोचित वितरणका लागि आजदेखि कोटा प्रणाली सुरु गरेको छ ।

ठूलो सङ्ख्यामा पेट्रोलियम पदार्थ भरेका ट्याङ्करहरू भारतीय सीमा नाकामा रोकिएपछि नेपाली बजारमा बढ्दै गएको पेट्रोलियम पदार्थको अभावलाई ध्यानमा राखी निगमसँग रहेको मौज्दात इन्धनबाट कोटा प्रणालीमार्फत वितरण सुरु गरिएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता दीपक बरालका अनुसार निजी सवारी साधनतर्फ प्रति हप्ता मोटरसाइकललाई तीन लिटर तथा चारपाङ्ग्रे सवारी साधनलाई १० लिटर पेट्रोल उपलब्ध गराइने व्यवस्था मिलाइएको छ ।

सार्वजनिकतर्फ ट्याक्सीलाई १० लिटर, माइक्रोबसका लागि १५ लिटर, मिनीबस र स्कुलबसका लागि २० लिटर र ठूला बसका लागि पनि प्रतिहप्ता ३० लिटर इन्धन कोटा तोकिएको छ ।

सार्वजनिक सवारी साधनले जोर–बिजोर प्रणालीअनुसार चलेको दिन तेल भर्न पाउने प्रवक्ता बरालले बताए । वितरण प्रणालीलाई सहज बनाउँदै पेट्रोलियम पदार्थको अभावको समस्यालाई न्युनीकरण गर्नका लागि कोटा प्रणाली सुरु गरिएको उनले बताए ।
एकहप्ता यता भारतीय सीमा पारी ४०२ वटा पेट्रोलियम पदार्थ भरिएका ट्याङ्कर रोकिएका कारण नेपाली बजारमा इन्धन अभाव भएकाले त्यसलाई यथाशक्य छिटो सहज तुल्याउन पहल भइरहेको निगमले जनाएको छ ।

निगमले अत्यावश्यक काम बिना निजी सवारीसाधनको प्रयोग कम गर्न र सार्वजनिक सवारीको प्रयोग गर्न आग्रहसमेत गरेको छ । इन्धनको अभावका कारण पेट्रोलपम्पमा तेल भर्न सवारी साधनको अत्यधिक चाप रहेको छ ।

जोर बिजोर प्रणालीका कारण सार्वजनिक सवारी साधनमा यात्रुको अत्यधिक चाप देखिएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>