समाचारसोमबार, आश्विन ११, २०७२
नेपालतर्फ कुनै अान्दाेलन नभएपनि पश्चिम नाकामा भारतकाे अवराेध
-बच्चु विक, महेन्द्रनगर
पूर्वी मधेशमा जारी अान्दाेलनकाे कारण देखाउँदै नाका बन्द गरेकाे भारतीय सुरक्षाकर्मीले नेपालको पश्चिम नाका गड्डाचौकीमा पनि अवरोध शुरु गरेको छ ।
११ असोज बिहानैदेखि दैनिक उपभोग्य सामान बोकेका गाडी नेपाल आउन दिएको छैन । पश्चिमी नाका गड्डाचौकीमा कुनै पनि राजनीतिक दल तथा भातृ संगठनहरुले विरोध तथा अवरोध नगरेको भएपनि भारतीय सुरक्षाकर्मीले सामान आयातमा रोक लगाएको छ ।
‘‘आज एउटा पनि गाडी आएको छैन । तरकारी, फलफूललगायत दैनिक उपभोग्य सामानका गाडी महाकाली पुर पारी रोकिएको छ’’, गड्डाचौकीस्थित महाकाली अञ्चल भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले भने ।
पश्चिमी नाकाबाट भारतीय नम्बर प्लेटका गाडीहरुमा दैनिक उपभोग्य सामानहरु आयात हँुदै आएको थियो । भारतबाट सामान लिएर आएका गाडी महाकाली माथिको शारदा बाँधको पश्चिमी किनारमा रोकिएका छन् ।
पश्चिमी नाकाबाट तरकारी, फलफूल, दैनिक उपभोग्य खाद्य पदार्थ आयत हुदै आएको छ । ‘‘हाम्रो यहाँ आयात हुने भनेकै भारतीय गाडीमा हो, त्यो रोकिएपछि असर त परिहाल्छ’’, भन्सार कार्यालय प्रमुख रेग्मीले भने ।
भारतको सीमा शहर बनबासाबाट नेपाल आउने टाँगा पनि चलेका छैनन् । भारतीय सुरक्षाकर्मीले टाँगाहरुलाई नेपालतर्फ आउनबाट रोकेको गड्डाचौकी इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक (सई) राजेन्द्र बहादुर चन्दले बताए ।
‘‘सबै हिडेरै आउदैछन । उताबाट टाँगा पनि आउन दिएको छैन’’ सई चन्दले भारतीय सुरक्षाकर्मीको भनाई उद्धृत गर्दै भने, ‘‘तोडफोड गरिने हुन् कि भनेर रोकेको जानकारी दिएका छन् ।’’
यससँगै भारतीय शहर बनबासा, टनकपुरबाट साइकल तथा मोटरसाइकलमा ‘क्यारिङ्ग’ गरिने सरसामानमा पनि कडाई गरेको छ ।
बिहानैदेखि साइकल र मोटरसाइलकमा पनि सामान ल्याउन नदिएको र भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाल प्रवेश गर्न अघि नै जाँच गरेर रोक्न थालेको छ । जसका कारण पश्चिमी सीमा नाकामा ओहोरदोहोर पनि कम भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
