समाचारमंगलबार, आश्विन १२, २०७२
नेपालमा नयाँ संविधान जारी भएकोमा अमेरिकी राष्ट्रपतिद्वारा खुसी व्यक्त
अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा लोकतान्त्रिक र समावेशी संविधान जारी भएकोमा नेपाल र नेपाली जनतालाई बधाई एवम् शुभकामना दिएका छन् ।
राष्ट्रसङ्घको ७० औँ महासभामा सहभागी हुन पुगेका सरकार प्रमुखहरुको सम्मानमा राष्ट्रपति ओबामाले ११ असोजमा आयोजना गरेको रात्रिभोजमा यस्तो बताएका हुन् । उनले नेपाली प्रतिनिधि मण्डलका नेता एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई नेपालमा लोकतान्त्रिक समावेशी संविधान जारी भएकोमा बधाई तथा शुभकामना दिए ।
उपप्रधानमन्त्री सिंहले राजनीतिक दलहरुको सहमतिमा संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधान जारी भएको र दलहरुको सहमतिमा यसको कार्यान्वयन गरिने बताएका थिए ।
यसैगरी, राष्ट्रपति ओबामाले राष्ट्रसङ्घका महासचिव वानकी मुनले आयोजना गरेको विश्वका नेताहरु सम्मिलित शान्ति सम्मेलनका अवसरमा पनि उपप्रधानमन्त्री सिंहलाई नेपालमा संविधानसभाबाट संविधान जारी भएकोमा राम्रो काम भएको भन्दै खुसी प्रकट गरे। रासस