समाचारमंगलबार, आश्विन १२, २०७२
डा. केसीको अनशन स्थगित
डा. गोविन्द केसीले ‘देशको अत्यन्तै विषम परिस्थिति र देशभरिका शुभेच्छुकहरुको चाहनालाई ध्यानमा राख्दै’ आफ्नो सातौं पटकको अनशन स्थगित गरेका छन् ।
उनले अनशनभन्दा पनि राष्ट्रले भोगिरहेको कठिनाइ र पीडा कैयौं गुणा ठूलो भएको भन्दै आफ्नो आन्दोलनबाट मुलुक र जनतालाई थप कठिनाइ नहोस् भन्ने तर्फ सचेत रहेर अनशन फिर्ता लिएको बताएका छन् ।
उनले आफ्ना मागहरु यथावत नै रहेको र आन्दोलन पनि जारी नै रहेको पनि जानकारी गराएका छन् ।
प्रेस विज्ञप्ति
देशको अत्यन्तै विषम परिस्थिति र देशभरिका शुभेच्छुकहरुको चाहनालाई ध्यानमा राख्दै सातौं पटकको अनशन मैले हाललाई स्थगित गर्ने निर्णय गरेको छु । अहिलेको मेरो अनशनभन्दा राष्ट्रले भोगिरहेको कठिनाइ र पीडा कैयौं गुणा ठूलो भएको मैले महसुस गरेको छु । मेरो आन्दोलनबाट मुलुक र जनतालाई थप कठिनाइ नहोस् भन्ने तर्फ म सचेत छु ।
तर यस पटकको अनशनसँग सम्बन्धित मागहरु यथावत् छन् र ती मागहरु सम्बोधन नभएको खण्डमा मेरो आन्दोलन जारी रहने छ ।
शुरुदेखि नै मैले उठाएका मागहरुलाई साथ दिने सम्पूर्ण नेपालीहरुप्रति म हार्दिक आभार प्रकट गर्न चाहन्छु । र भविष्यमा पनि सबैको साथ र सहयोग रहनेमा म विश्वस्त छु ।
डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
२०७२.६.१२