समाचारमंगलबार, आश्विन १२, २०७२
भैरहवा–सुनौली नाकाबाट धपाइए प्रदर्शनकारी
भैरहवा–सुनौली नाकाको दशगजा क्षेत्रमा धर्ना दिने प्रयास गरिरहेका मधेशी मोर्चाका नेता–कार्यकर्ताविरुद्ध स्थानीयबासी प्रतिकारमा उत्रिएपछि उनीहरु धपाइएका छन् ।
दशगजा क्षेत्रमा धर्ना बस्न पुगेका मधेशी मोर्चाका नेता कार्यकर्ताविरुद्ध स्थानीयबासी उत्रिएपछि प्रतिकारमा उत्रिएको पक्षलाई प्रहरीलाई रोकेको थियो भने धर्ना बस्न पुगेकाहरुमाथि पनि प्रहरीले हस्तक्षेप गरेपछि उनीहरु प्रहरीलाई ढुंगा हान्दै भारततर्फ लागेका थिए ।
अघिल्लो दिनजस्तै १२ असोजमा पनि बिहानैदेखि धर्नामा बस्न खोजिरहेका उनीहरुको प्रतिकारमा स्थानीयबासी उत्रिएपछि केही बेर तनाव भएको लुम्बिनी प्रहरी प्रमुख गणेश केसीले बताए ।
उनका अनुसार प्रतिकारमा उत्रेको समूहलाई प्रहरीले रोकेर धर्नाबसेकाहरुलाई पनि त्यसक्षेत्रबाट प्रहरीले हटाएको छ । उनले भने, “ हस्तक्षेप पछि उनीहरु प्रहरीलाई ढुंगा हान्दै भारततिर तितरबितर भए ।”
पार्किङमा समस्या भएपछि केही गाडी नेपाल पठाइयाे
अन्य नाकाहरुमा धर्नाकारीहरु सफल जस्तै देखिए पनि सुनौली नाकामा भने उनीहरुको धर्ना सफल भएको छैन् ।
११ असोजमा धर्नाकारी हटेपछि सुनौली नाकाबाट ७५ वटा साधन नेपाल भित्रिएका थिए । तर ती नाकाबन्दी खुलेर नेपाल भित्रिएका भने होईनन् ।
सुरक्षा स्रोतका अनुसार भारतीय भूमीमा सवारी पार्किंगमा समस्या भएपछि केही साधनलाई भारतीय रणनीति अनुसार नै नेपाल भित्रिन दिईएको थियो ।
भित्रिएकामध्ये धेरैजसो साधनहरु सड्न लागेका समान बोकेका ढुवानीका साधन थिए ।
सिमामा आन्दोलनकारीको अबरोध नभए पनि १२ असोजमा भारतीय पक्षले कुनै पनि मावबाहक साधन नेपाल आउन दिएको छैन ।
दीपक ज्ञवाली, रुपन्देही