समाचारबुधबार, आश्विन १३, २०७२
मोर्चाले असहयोग आन्दोलन गर्ने
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई कुनै पनि प्रकारको कर, सेवा शुल्क नतिरेर असहयोग गर्ने निर्णय गरेको छ ।
१३ असोजमा रौतहटको गौरमा बसेको मोर्चाको बैठकले आन्दोलनलाई अझै चर्काउँदै सम्झौताका लागि सरकारलाई दबाब दिने निर्णय गरेको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए ।
सरकार र तीन प्रमुख दलसँग औपचारिक वार्ताको वातावरण बनाउने जिम्मा तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई दिएको मोर्चाले पुराना सहमति कार्यान्वयनको प्रतिवद्धता आएपछि मात्रै तीन दलसँग वार्तामा वस्ने निर्णय गरेको छ ।
“तीन दलबाट पुराना सहमतिहरु कार्यान्वयन गर्ने प्रतिवद्धता आएपछि वार्तामा वस्न सकिन्छ, वार्ताको ढोका खुलै छ तर, सरकार र तीन दल गम्भीर बन्नुपर्यो,” महतोले भने ।
नेपाल–भारत सीमा नाका ठप्प पार्ने गरी मोर्चाले दिइरहेको धर्नालाई कायमै राख्ने र १४ असोजमा कञ्चनपुरदेखि झापासम्म मानव साङ्लो बनाएर विरोध प्रदर्शन गर्ने पनि मोर्चाले जनाएको छ ।
सदरमुकाम गौरस्थित सिया प्यालेस होटेलमा बिहान ७ बजेदेखि शुरु भएको मोर्चाको बैठकमा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष मेहन्द्रराय यादव सहभागि थिए ।
बैठकमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री, राष्ट्रपति, तीन दलका अन्य शीर्ष नेतासँग काठमाडौंमा भएको कुराकानीबारे मोर्चामा जानकारी गराएका थिए । ।