समाचारबुधबार, आश्विन १३, २०७२
सुनौली नाकाबाट ७० गाडी भित्रिए, १२०० अझै उतै
भारतको सुनौली नाकाबाट १३ असोजमा पेट्रोलियम पदार्थका ३, ग्यासका दुई वटा सहित ७० वटा गाडी भित्रिएका छन् ।
सुनौलीमा भारतीय सुरक्षाकर्मीले केही दिनदेखि रोकिराखेका मालबाहक साधनहरु नेपाल भित्रिएका हुन् ।
१३ असोजमा दुबैतर्फका व्यापारी, सुरक्षा अधिकारी र भन्सार अधिकारीहरु बीच अनौपचारिक छलफल भएपछि ती साधनहरु नेपाल भित्रिएका हुन्।
भारतीय सीमामा धेरै साधनहरु थुप्रिएर पार्किंग व्यबस्थापनमा समस्या भईरहेको तथा तरकारी र फलफूलहरु गाडीमै सड्न थालेपछि पनि भारतले केही गाडीहरु नेपाल पठाएको हो ।
दुवै पक्षबीच भएको वार्तामा अहिले नेपालतर्फ आउनका लागि लाइनमा रहेका सबै गाडीलाई दुवै देशका सुरक्षाकर्मीले आ–आफ्नो सीमामा सुरक्षा दिई गन्तव्यतर्फ पठाउने मौखिक सहमति भएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुदत्त ढकालका अनुसार १३ असोजमा भित्रिएका ७० वटा गाडीमध्ये अधिकांश तरकारी तथा फलफूलका छन् भने ४ वटामात्रै पेट्रोलियम पदार्थका ।
तरकारी र फलफूल गाडीमै सड्न थालेपछि भारतले पठाएको स्थानीय व्यवसायीहरुले बताएका छन् । उनीहरुले भारतीयपक्षसँग नेपालतर्फ नाकामा कुनै अवरोध नभएकोले सबै गाडीहरु छोड्न र इन्धनका थप गाडीहरु समेत सुचारु गराउन माग गरेका छन् ।
प्रजिअ ढकालका अनुसार अहिले पनि नेपालतर्फ आउनका लागि करिब १ हजार २०० गाडी सुनौलीमा लाम लागेका छन् ।तीमध्ये ३५ वटा पेट्रोल र डिजेलका ट्यांकर र २८ वटा ग्यासका बुलेट छन् । ती सबै गाडीहरु आज नेपाल भित्रन सक्ने ढकालले जानकारी दिए ।
नेपाल आउन लाईनमा रहेका गाडीहरु आउन दिने सहमति भए पनि वार्तामा थप ढुवानीबारे कुनै कुरा भएको छैन । थप सामान लिनका लागि नेपाली गाडीहरु पनि भारत गएका छैनन् ।
लुम्बिनी प्रहरी प्रमुख गणेश केसीले सुनौली नाकामा लाइनमा रहेका गाडीहरु नेपाल भित्र्याउने पहल स्थानीय स्तरमै भएको बताएका छन् ।
दीपक ज्ञवाली,बुटवल
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
