समाचारबुधबार, आश्विन १३, २०७२

मधेशी माेर्चाले नेपाली टिभी र गीत प्रशारणमा राेक लगायो

हिमालखबर

मोर्चाका पर्सा जनपरिचालन समिति संयोजक प्रदीप यादव नेपाली टेलिभजनको प्रशारण बन्द गर्न चेतावनी दिंदै ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बारा र पर्सामा नेपाली टेलिभिजनहरुको प्रसारण बन्द गराएको छ ।

मोर्चाले  एभिन्यूज टेलिभिजन बाहेकका सबै टेलिभिजनहरुको प्रशारणमा रोक लगाएको हो । एभिन्यूजले आन्दोलनका समाचारहरु दिइरहेकोले प्रशारण बन्द गर्नु नपर्ने मोर्चाले जनाएको छ ।

त्यसैगरी नेपाल वान टेलिभिजनको प्रशारणमा पनि रोक नलगाएको मोर्चाले जनाएको छ । यद्यपी नेपाल वान भारतको दिल्लीबाट प्रशारण हुने र भारतीय सरकारको अनुदान समेत रहेको भारतीय टेलिभिजन हो ।

मोर्चाले पत्रलेखेर आग्रह गरेपछि १३ असोजबाट नेपाली टेलिभिजनहरुको प्रसारण रोकेकोे सिटी सेटलाइट केबुल, वीरगञ्जका सञ्जय थापाले बताए ।

वीरगञ्जमा सिम टिभी र सिटी सेटलाईट केबुलले केबुलमार्फत टेलिभिजन प्रशारण गरिरहेका थिए ।

“हामी मोर्चा विपरित जान पनि मिलेन,” सिटी सेटलाइट केबुलका अर्का सञ्चालक राम सर्राफले भने “सांसदहरुकै घरको सुरक्षा छैन, प्रहरी चौकीहरु जलाइएका छन् । यस्तो अवस्थामा जोखिम मोल्नु पनि ठिक भएन ।”

वीरगञ्जमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मोर्चा दुवैले नेपाली च्यानल बन्द गराउने धम्की दिएको भएपनि १३ असोजमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मात्रै केबल टिभीहरुमा पत्र पठाएको छ ।

भारतले गरेको नाकाबन्दीको विरोध गर्दै देशका केही भागमा भारतीय टेलिभिजनको केबुल प्रशारण बन्द गरिएपछि मोर्चाले त्यसको भत्र्सना गर्दै भारतीय टेलिभिजनको प्रशारण सुचारु गराउन माग गरेलगत्तै नेपाली टेलिभिजनहरुको प्रशारण बन्द गराएको हो ।

मोर्चाको पर्सा जनपरिचालन समिति संयोजक प्रदीप यादवले काठमाडौं लगायतका ठाउँमा भारतीय टेलीभिजन च्यानल बन्द गराइएको बिरोधमा पर्सा र बारमा नेपाली च्यानल बन्द गराइएको बताए ।

संयोजक यादवले जारी गरेको विज्ञप्तीमा नेपाली चलचित्रहरु समेत प्रदर्शन गर्नमा रोक लगाइएको छ ।

वीरगञ्जका एफएममा नेपाली गीत बजाउन छोडियो
त्यस्तै वीरगञ्जका सबै एफएम रेडियोहरुले नेपाली गीत समेत बजाउन छोडेका छन् ।

मोर्चाले तराईका एफएमहरुमा नेपाली गीत नबजाउन भनेपछि वीरगञ्जमा रहेका एफएम रेडियोहरुले नेपाली गीत बजाउन छोडेका हुन् ।

मोर्चाको आग्रहमा रेडियोमा नेपाली गीत नबजाईएको नारायणी एफएमले जनाएको छ ।

मोर्चाका जन जन परिचालन समितिका संयोजक यादवले नै १३ असोजमा छुट्टै विज्ञप्ती जारी ‘मधेशको भूमिमा खसभाषी (नेपाली) गीत संगीत बन्द गर्न’ भनिएको छ ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>