थप समाचारबुधबार, आश्विन १३, २०७२
आन्दोलनमा ज्यान गुमाएका हिफाजतका परिवारलाई कतारबाट सहयोग
कतारमा कार्यरत बाराबासीले प्रहरीको गोलीबाट मृत्यु भएका कलैया–१० रंगपुरका हिफाजत मियाँअन्सारीका परिवारलाई रु ४३ हजार सहयोग गरेका छन् ।
कतारबाट प्राप्त सहयोग आज, १३ असोजमा हिफाजतकी श्रीमतीलाई प्रदान गरिएको छ ।
उनको मृत्युपछि परिवारका सदस्यलाई जीवन धान्न समेत धौ धौ परेको समाचार प्रकाशित भएपछि कतारमा कार्यरत बाराका बिकेश जैसवाल, उमेश जैसवाल, श्रीकान्त कुमार, कौशल जैसवाल, सम्भु साह लगायतकाले सहयोग रकम संकलन गरी पठाएका हुन् ।
हिफाजतका ५५ वर्षीय बुवा नजिर मियाँ कान राम्रोसँग सुन्दैनन् । खेतीका बेला अरुकहाँ मजदूरी गरी गर्जो टार्ने नजिर र उनकी पत्नी बिगनी खातुन अचेल अधिकांश समय घर मै हुन्छन् ।
हिफाजतकी एक बर्षकी छोरी हसबुन्नेसालाई जन्मजात पोलियो रोग लागेको छ । श्रीमति सबिना खातुन पाँच महिनाकी गर्भवती छिन् ।
सारधरण लेखपढ गरेका हिफाजत साइकल मिस्त्री थिए । उनकै कमाईले घर खर्च चल्थ्यो ।
कलैया बजारको हनुमान रोडस्थित रामचन्द्र साहको साइकल पसलमा हिफाजत काम गर्थे ।
१५ भदौमा कलैयामा प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेका बेला पसलबाट निस्केका हिफाजतलाई गोली लागेपछि उनको घटनास्थलमै ज्यान गएको थियो ।
श्याम गुप्ता, बारा