समाचारबुधबार, आश्विन १३, २०७२
आठ दिन भयो पूर्वको शान्त नाकाबाट ग्यास नआएको
आन्दोलन–धर्ना केही नभएको पूर्वको शान्त नाका काकडभिट्टा–पानीटंकीबाट भारतले ६ असोजदेखि आजसम्म एउटा पनि ग्यासको गाडी नेपाल आउन दिएको छैन ।
६ असोजदेखि आजसम्म ग्यासको एउटा पनि बुलेट आउन नदिएको भारतले नाकाबन्दीको चौथो दिन ९ असोजदेखि डिजेल–पेट्रोल पनि नेपाल भित्रन दिएको छैन ।
१३ असोजमा भारतले कुहिन लागेका माछा, फलफुल र तरकारी बोकेका ट्रक साथै उद्योगका कच्चापदार्थ र खेलौनाका ट्रक मात्रै नेपाल पस्न दिएको छ ।
आठ दिनदेखि सीमापारी भारतको पानीटंकीमा रोकिएका मालबाहक गाडीको लस्कर दिनदिनै बढिरहेको छ ।
भारतीय भन्सारबाट जाँचपास भइसकेका ट्रकहरुलाई त्यहाँको सीमा सुरक्षा बलले केन्द्रको आदेश भन्दै रोकिरहेको छ ।
भारतीय राजदूत रणजित रेले चाहीं नेपालमा जारी आन्दोलनले भारतबाट सामान आउन नसकेको दाबी गर्दै आएका छन् ।
यसैबीच भारतीय नाकाबन्दीको विरोधमा काकडभिट्टामा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले भूपरिवेष्ठित मुलुक नेपालको अधिकारको सम्मान गर्न पनि भारत सरकारसँग आग्रह गरेका छन् ।
गोपाल गडतौला, झापा