थप समाचारबिहीबार, आश्विन १४, २०७२
चिनिया नाका खुलाउन अखिलको श्रमदान
भूकम्पपछि गएको पहिरोले अवरुद्ध कोदारी राजमार्गको तातोपानी खण्ड खुलाउन अनेरास्ववियुले श्रमदान गर्ने भएको छ ।
चीनसँगको नाका जोड्ने उक्त सडक खण्ड खुलाउन अखिलको टोली १४ असोजमा त्यसतर्फ प्रस्थान गरेको अखिलका सचिवालय सदस्य आरती लामाले बताइन् । उनका अनुसार झण्डै ३ सय विद्यार्थीहरुले अवरुद्ध सडक खुलाउन श्रम गर्नेछन् ।
उनीहरुलाई एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले विदाई गरेका छन् । अखिललाई विदाई गर्दै नेता पोखरेलले दक्षिणी सीमामा नाकाबन्दी भइरहेका बेला उत्तरतर्फको नाका खुलाउने अभियानले राम्रो सन्देश दिने बताए ।
यो टोलीले त्यहाँ ३ दिन श्रम गर्नेछन् । भूकम्पलगत्तै नेपाल सरकारको आग्रहमा चिनिया सशस्त्र बलले एकतर्फी सवारी साधन चल्न सक्ने गरी खुलाएको राजमार्ग खुलेको केही दिनपछि लिपिङ र तातोपानी बजार क्षेत्रमा सुक्खा पहिरोले अवरुद्ध बनाएको छ ।
बाटो खुलाउन सडक डिभिजन कार्यालय चरीकोट, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि क्रियाशील छन् ।