रमझमसोमबार, मंसिर ४, २०६९
‘नेपाल भोट’ (फोटो–एसे)
तस्बीर/आलेख- कुन्द दीक्षित
भौगोलिक विकटता र थोरै जनसंख्याले होला हामी तिनलाई हिमालमै गाभिदिन्छौं, जबकि त्यहाँको धर्म, संस्कृति, भेषभुषा, रीतिरिवाज, प्रकृति र हावापानी हिमालवारिको भन्दा बेग्लै छ। गोर्खा, रसुवा, दोलखा, खुम्बु, ताप्लेजुङका केही भाग पनि यस्तै छन्। यस्ता छुट्टै विशेषताका कारण यी क्षेत्रको भिन्दै भौगोलिक नामकरण गर्नुपर्ने देखिन्छ।
अंग्रेजीमा यो क्षेत्रलाई ‘ट्रान्स–हिमालय’भनिन्छ। त्यस हिसाबले नेपालीमा ‘हिमालपार’ भने हुन्थ्यो, तर मुस्ताङ र मनाङका बासिन्दाको दृष्टिमा दक्षिण नेपाल ‘हिमालपार’ हुन्छ। बरु ‘नेपाल भोट’ भन्दा यो भेगको तिब्बतसँगको ऐतिहासिक र सांस्कृतिक निकटता पनि झ्ल्किन्छ र अन्तर्राष्ट्रिय सिमानाको हिसाबले यो नेपालभित्र पर्ने कुरा पनि प्रष्ट हुन्छ।
नेपालको भोटसँग परम्परागत व्यापार, धर्म र संस्कृति आदान–प्रदान हुने गरेको ठाउँ मुख्यतः कालीगण्डकीको खोंच हुँदै हिमाल छेडेर पुगिने मुस्ताङ अधिराज्य हो। पृथ्वीनारायण शाहले जुम्लालाई नेपालमा गाभेपछि ‘बोनस’ को रूपमा नेपालको भागमा पर्न पुगेको मुस्ताङ अहिले ‘गणतन्त्रभित्रको अधिराज्य’ भएर बसेको छ। भौगोलिक विकटताले सधैं ओझेलमा परेको मुस्ताङबाट सन् १९६०–७५ मा खम्पाहरूले चीनको सेना विरुद्ध छापामार युद्ध लडेका थिए। धेरैजसो छापामार मुस्ताङका शिविरमा तालीम र आश्रय लिन्थे, घोडा चढेर सिमानापारि गई चीनका सैनिक अखडामा धावा बोल्थे।
यो छापामार युद्धमा अमेरिका र भारत दुवैले खम्पाहरूलाई सहयोग गरेका थिए। त्यतिबेला भर्खरै हिमाली क्षेत्रमा भएको सीमा युद्धमा चीनको हातबाट ठूलो पराजय भोग्नुपरेको भारतले त्यसको बदला लिन खम्पाहरूलाई उक्सायो, अमेरिकी गुप्तचर संस्था सीआईएका सैनिक हवाईजहाजलाई भारतीय विमानस्थलमा इन्धन भर्न अनुमति दियो र ती जहाजले लुकी–लुकी नेपालमाथिबाट उडेर मुस्ताङको ताङ्ग्बे र अरू ठाउँमा प्यारासूटबाट हातहतियार खसाले। सन् १९७० देखि तत्कालीन सोभियत संघ र चीनबीच फाटो आएपछि भने अमेरिकाले चीनसँग सम्बन्ध बनाउन थाल्यो।
राष्ट्रपति निक्सनले चीन भ्रमण गरेर माओत्सेतुङ्गलाई भेटेपछि खम्पाहरूलाई दिइएको अमेरिकी सहयोग रोकियो। त्यसपछि चीनले नेपाल सरकारलाई खम्पाहरू निर्मूल पार्न दबाब दियो। त्यसबेला भर्खरै राजा भएका वीरेन्द्रले शाही नेपाली सेनाका रथी आदित्यशमशेर राणाको नेतृत्वमा उत्तर–पश्चिम नेपाल पठाएका हेलिकप्टर सहितको कमाण्डो टोलीले खम्पा छापामार र तिनका नेता वाङ्गदीलाई मुस्ताङबाट लखेट्दै दार्चुलाको लिपुलेकसम्म पुर्यायो। त्यहाँ भारत छिर्ने नाकामा लुकेर बसेका नेपाली सैनिकले वाङ्गदी र अरू छापामारलाई मारिदिए।
त्यसपछि फेरि ओझेलमा परेको मुस्ताङलाई पहिलो जनआन्दोलनपछिको लोकतान्त्रिक सरकारले सन् १९९२ मा सीमित पर्यटनको लागि खोल्यो, उपल्लो मुस्ताङको संवेदनशील वातावरण र संस्कृतिलाई रक्षा गर्न ट्रेकिङ पर्यटकको संख्यामा सीमा तोक्यो र हरेक पर्यटकलाई दिनको ७५ डलर तिर्न बाध्य बनायो। मुस्ताङको पर्यटकीय व्यवस्थापनको जिम्मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र नेपाल प्रकृति संरक्षण कोषलाई दिइएको थियो, र सम्झौता अनुसार पर्यटकले तिरेको शुल्कको ६० प्रतिशत मुस्ताङको विकासमै खर्च गर्नुपर्ने थियो। तर केन्द्रबाट यो रकम पूरै कहिल्यै नआएको मुस्ताङ्गीहरूको गुनासो छ।
अहिले पोखरादेखि बेनीहुँदै, जोमसोमबाट लो मान्थाङ्गसम्म र स्थानीय गाउँहरूबीच समेत सडक बाटो पुगेको छ। वर्षात्पछि कालीगण्डकीको बगरैबगर जीप र ट्रकहरू एकदिनमै जोमसोमबाट लो मान्थाङ्ग पुग्छन्। मुस्ताङमा ‘मुस्ताङ’ जीप चल्न थालेपछि उत्तरी भेगलाई संरक्षण क्षेत्र भनेर पर्यटकलाई दैनिक शुल्क तिराउने नियमको औचित्य देखिंदैन। लो मान्थाङ्गमै कोही भन्छन्― अब मुस्ताङलाई पूरै खोली दिनुपर्छ, दस्तुर हटाउनुपर्छ र स्थानीय जनतालाई पर्यटनको लाभ उठाउन दिनुपर्छ। तर अरू भन्छन्― पूरै खोल्यो भने मुस्ताङ र ठमेलमा केही फरक हुँदैन र अन्नपूर्ण ट्रेलमा जस्तै एक कप चियाको लागि पनि मोलतोल गर्ने खालका सस्ता पर्यटकहरू आउन थाल्छन्।
ताशी वाङ्गेल पर्यटक चढेका घोडा डोर्याउँदै ४००० मिटर उचाइमा रहेको चोयाला भञ्ज्याङ आइपुग्छन्। घोडाहरू नाकका पोरा फुलाई बाफ निकालेर धक्दै थकाइ मार्छन्। दक्षिणपट्टि नीलगिरि, अन्नपूर्ण र तिलिचो हिमालहरू बिहानको उज्यालोमा रत्न जस्तै चम्किरहेका छन्। पहाडको बीचमा बादलहरूको लुकामारी चलिरहेको छ। यस्तो शान्त र रमणीय ठाउँमा एक्कासी तलबाट मोटरको कर्कश आवाज सुनिन्छ र एउटा भरिभराउ जीप धूलो उडाउँदै आइपुग्छ। यसबाट झ्स्किएका घोडालाई सम्हाल्न ताशीलाई हम्मेहम्मे पर्छ। लो मान्थाङ्गबाट बिहान समार गाउँको लागि छुटेको जीप व्यापारी, भिक्षु, भरिया र एक–दुई विदेशी पर्यटकले भरिएको छ। जीप अघि बढेपछि, ताशी भन्छन्, “अब कति दिन घोडा राख्न सकिन्छ थाहा छैन। यी मरेपछि किन्दिनँ।”
घोडा, खच्चड र गधाहरू मुस्ताङ र तिब्बतको संस्कृतिसँग गाँसिएका जनावर हुन्। तिब्बती गीत, भाषा र सभ्यतामा घोडाले ठूलो माने राख्छन्। घोडाको नाम तिनको रंगबाट राखिन्छ। घोडाहरू सफलताका प्रतीक हुन् र तिब्बती लुङ्गटाहरूमा वायुपङ्खी घोडाको चित्र अंकित हुन्छ। तर अब मुस्ताङमा घोडा राख्ने चलन हराउन लागेको छ। राजा र एक–दुई सौखिनहरूले राख्लान्, धेरैले बेचेर मोटरसाइकल किन्न थालिसके। अब पर्यटकहरूलाई मोटरबाटो नपुगेका नयाँ–नयाँ ठाउँमा आकर्षित गर्न सकियो भने मात्र मुस्ताङ्गी संस्कृतिमा घोडाले पारेको छापको आयु बढाउन सकिन्छ।
जेभए पनि लोबाहरूले संसार देखेका छन् र उनीहरूमा जस्तै चुनौती र परिवर्तनलाई पनि सामना गर्न सक्ने क्षमता छ। नेपाल भोटमा आएको यो ठूलो आर्थिक र भौगोलिक परिवर्तनलाई पनि उनीहरूले आफ्नो समाजलाई फाइदा हुने गरी सामना गर्न सक्नेछन्।
हिमालभन्दा पुराना
हिमाल र हिमालपारिको भौगोलिक, जैविक र सांस्कृतिक परिवर्तनको राम्रो झ्लक मार्फाबाट जोमसोमहुँदै कागबेनी जाँदा देखिन्छ। मुस्ताङ्गमा अन्नपूर्ण र धौलागिरिबाट बगेको कालीगण्डकीले करोडौं वर्ष लगाएर संसारकै सबैभन्दा गहिरो खोंच काटेको छ। यो नदी ती विशाल हिमाल भन्दा पुरानो हो।
हिमालयको उत्पत्तिअघि अहिलेको तिब्बत ‘तेथीस’ समुद्रको किनारमा थियो। यसको पुष्टि मुस्ताङभरि भेटिने पत्रे चट्टान र शालिग्रामले गर्छन्। कुनैबेला समुद्रको किनारमा छालले हानेर खिइएका र टुक्रिएका यी चट्टान र ढुङ्गाहरू अहिले समुद्रभन्दा ५००० मि. माथि उचालिएका छन्। मुस्ताङको कालीगण्डकी र खासगरी नरसिंह खोलामा छ्याप्छ्याप्ती पाइने शालिग्राम सात करोड वर्ष अगाडि समुद्रको पिंधमा जिउने एमोनाइट जनावरका फोसिल (अवशेष) हरू हुन्। मुस्ताङका हिमालमा जताततै देखिने बाङ्गाटिङ्गा चट्टानका पत्रले हिमालयको उत्पत्ति हुँदा दुइटा विशाल महाद्वीपहरूको ठक्कर कति शक्तिशाली थियो भन्ने देखाउँछन्।
भारतीय उपमहाद्वीप अफ्रिकाबाट ६ करोड वर्ष अगाडि छुट्टिएर युरेसिया महाद्वीपसँग ठोक्किन आइपुग्दा यहाँ हिमालय श्रृङ्खला उचालिएको हो। पहिले बगिराखेका नदीहरूले तिनै हिमालका बीचबाट खोंच काट्दै आफ्नो बाटो बनाए। कर्णाली, ब्रह्मपुत्र, कालीगण्डकी, अरुण र भोटेकोशी सबैका स्रोत हिमालपारि हुनुले पनि नदीहरू हिमालभन्दा पुराना भएको पुष्टि गर्छ। एशियाका धेरै नदी यसरी उचालिएको तिब्बतीय क्षेत्रबाटै उत्पन्न भएका छन्। मानसरोवर नजिकबाट शुरू भएको इन्डस कराँची नजिकै अरेबियन सागरमा मिसिन्छ, ब्रह्मपुत्र हिमालयलाई छिचोल्न नसकी १५०० किमी पूर्वतिर बगेर बर्माको सिमाना नजिक पुगी फेरि पश्चिमतिर लाग्छ र बङ्गलादेशमा गंगा नदीसँग मिसिएर बङ्गालको खाडीमा विलीन हुनपुग्छ। चीनका याङत्से, हुवाङ्ग ह्वे र मिकोङ्ग तथा बर्माका इरावाडी र साल्विन नदीहरू पनि तिब्बतबाटै निस्कन्छन्।
विश्वको तापक्रम वृद्धिका कारण हिमाल र हिमनदीहरू यही गतिमा पग्लँदै जाने हुन् भने ५० वर्षभित्रमा धेरै ठूला नदीहरू सुक्खा याममा पूरै सुक्नेछन् र तिनमा निर्भर एशियाको १ अर्ब ५० करोडको जनसंख्या बसोबास गर्ने क्षेत्रमा पानीको हाहाकार मच्चिनेछ। तिब्बत र नेपालका हिमाल तथा हिमनदीमा यसरी हिउँ पग्लन नदिनु र हिमालय क्षेत्रको संरक्षण गर्नु संसारकै दायित्व भएको छ।