समाचारबिहीबार, आश्विन १४, २०७२
बेवारिसे शव गाड्न लैजाँदा धनुषामा केही बेर तनाव
धनुषाका विभिन्न ठाउँमा विभिन्न मितिमा भेटिएका तीनवटा बेवारिसे शव नगरपालिकाले गाड्नका लागि दुधमती किनारमा लैजाँदै गर्दा केही बेर तनाव भएको छ ।
प्रहरीले नगरपालिकालाई जिम्मा लगाएका बेवारिसे शव नगरपालिकाका कर्मचारीले गाड्न लैजाँदै गर्दा स्थानीयले देखेपछि रोकेर सोधखोज गरेका थिए ।
उक्त खबर आन्दोलनकारीहरुमाझ फैलिंदै गर्दा अर्कै रुप लिन पुगेपछि धनुषा प्रहरीले पत्रकार सम्मेलन नै गर्नु पर्यो ।
प्रहरी उपरीक्षक गणेशबहादुर थापाका अनुसार जिल्लामा बेवारिसे भेटिएका शव प्रहरीले मुचुल्का उठाएर जिल्ला अस्पतालमा पठाउँछ ।
जिल्ला अस्पतालले पोष्टमार्टमपछि पुनः प्रहरीलाई बुझाउँछ भने प्रहरीले नगरपालिकालाई जिम्मा लगाउँछ । यसैबीच उक्त शव कसको हो भन्ने बारे खोजी पनि हुन्छ । त्यसरी पनि सनाखत हुन नसकेका वा आफन्त कोही नभएका व्यक्तिका शव नगरपालिकाले स्थानीय दुधमति नदी किनारमा सद्गत् गर्छ ।
प्रहरीका अनुसार २९ भदौ देखि १२ असोजसम्म धनुषाका विभिन्न स्थानमा ६ वटा बेवारिसे शव भेटिएका थिए । सनाखत हुन नसकेका र कसैले पनि दाबी नगरेका ती शवमध्ये तीन वटाको पहिले नै अन्त्येष्टि भइसकेको थियो भने तीनवटा शव अन्त्येष्टिका लागि लैजाँदै गर्दा स्थानीयले देखेपछि त्यो ‘आन्दोलनका क्रममा मारिएकाको हुन सक्ने’ भन्दै नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।
प्रहरीले ती शवहरुका बारेमा सबै रेकर्डहरु आफूसँग भएकोले भ्रममा नपर्न सबैलाई आग्रह गरेपछि अहिले जनकपुरको स्थिति शान्त भएको छ ।
उक्त बेवारिसे शवबारे स्पष्ट पार्न आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली र जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सञ्जय ठाकुर पनि सहभागी थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
