समाचारशुक्रबार, आश्विन १५, २०७२
नयाँ प्रधानमन्त्री चयनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह
प्रधानमन्त्री सुशील कोइरालाले नयाँ प्रधानमन्त्री चयनका लागि आह्वान गर्न राष्ट्रपति रामवरण यादवलाई आग्रह गरेका छन् ।
व्यवस्थापिका–संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले संविधानको व्यवस्था अनुसार नयाँ प्रधानमन्त्रीका लागि आह्वान गर्न आग्रह गरेका हुन् । उनले यसअघि दलहरुबीच भएको सहमति र सार्वजनिक प्रतिवद्धता अनुसार नयाँ सरकार गठनको बाटो खुलेको जनाए ।
…………………………………………………………………..
नयाँ सरकार गठनका लागि आह्वान गर्न सरकारले राष्ट्रपति रामवरण यादवलाई आग्रह गर्ने तयारी भएको छ ।
१५ असोज साँझ ५ बजे बस्ने व्यवस्थापिका–संसदको बैठकबाट यस्तो निर्णय पारित गरेर प्रधानमन्त्री सुशील कोइराला राष्ट्रपति यादवलाई आग्रह गर्न जाने भएका हुन् ।
संविधान जारी भएपछि बस्ने संसद् बैठकको ७ दिनभित्र सहमतिको सरकार गठन गर्नुपर्ने वैधानिक व्यवस्था अनुसार नयाँ सरकार गठनको आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गर्न लागिएको हो ।
राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेलगत्तै वर्तमान सरकार काम चलाऊ हुने नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली बताउँछन् । उनले भने, “संभवत् प्रधानमन्त्रीले संसद् बैठकबाटै राजिनामा गर्नुहुन्छ ।”
कांग्रेस नेता रामहरी खतिडाले प्रधानमन्त्री कोइरालाले राजिनामा गर्ने तयारी भइरहेको बताउँछन् । उनका अनुसार संसद् बैठकमा प्रधानमन्त्रीले राजिनामा दिनुहुनेछ ।
आन्दोलनरत दलहरुलाई समेट्न नयाँ संविधान संशोधन र सरकार गठनका लागि कार्यविधि प्रस्ताव प्रधानमन्त्रीले संसदमा पेश गरेपछि नयाँ सरकार गठनकाे अाह्वान गर्न राष्ट्रपतिलाई अाग्रह गर्ने योजना तय भएको छ ।
३ असोजमा जारी भएको संविधानको प्रावधान अनुसार संसद् बैठक बसेको ७ दिनभित्र प्रधानमन्त्री, २० दिनभित्र सभामुख र एक महीनाभित्र नयाँ राष्ट्रपति चयन गर्नुपर्नेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
