रमझमशनिबार, आश्विन १६, २०७२
विश्वकर्मा पुरोहित
जात लुकाएर पशुपतिमा कर्मकाण्ड सिकेका पूर्ण बिक (५५) आफ्नो समुदायमा पुरोहित गनिएका छन्।
सबेरै नुहाइधुवाइ सकेर पाञ्चायन देवताको पूजा गर्छन्। टुप्पी पालेका, जनै लगाएका छन्। न माछामासु खान्छन् न त मदिरा पिउँछन्।
उनी हुन्, दमक–१९ का पूर्ण बिक (५५)। दलित कुलमा जन्मिएका बिकको कर्मकाण्डी ब्राह्मणको जस्तो जीवनशैली देख्दा/सुन्दा धेरै आश्चर्य मान्छन्। तर, उनलाई भने यो स्वाभाविक लाग्छ, किनभने उनी दलित समुदायका पुरोहित जो हुन्।
२०४४ सालमा काठमाडौंमा सडक विभागमा मजदूरी गर्न गएका पूर्णले एकदिन गौशालाको पशुपति मन्दिर परिसरभित्र ब्राह्मण वटुकले पढिरहेको देखे। र, भित्रैबाट उनलाई आफूले पनि संस्कृत पढी ब्राह्मण जस्तै बन्ने मन लाग्यो। दिउँसो सडकमा काम गर्ने र बिहान ब्राह्मण वटुकसँगै मिसिएर उनी कर्मकाण्ड सिक्न थाले। मन्दिरको दान–दक्षिणाले उनलाई खान–बस्न पनि सजिलो भयो। “पढ्नै दिंदैनन् भन्ने डरले मैले आफ्नो जात भनिनँ”, उनी भन्छन्।
एक वर्षजति रुद्री र चण्डी पढेपछि बिकले जनै लगाए। र, अर्को वर्ष घर फर्के। काठमाडौंमा काम गर्न गएको पूर्णले धाराप्रवाह संस्कृतका श्लोक वाचन गरेको सुनेर दलित समुदाय मात्र होइन, ब्राह्मणहरू समेत चकित परे। त्यसयता उनी दलित समुदायमा पुरेतका रुपमा पुजिन थालेका छन्। उनी भन्छन्, “धेरै हिन्दू ग्रन्थ पढें, यो कर्म हामीले गर्नुहुन्न भनेर कतै लेखेको रहेनछ।”
गत माघ―फागुनमा उनले दमक वरपर दलितका ९ घरमा श्रीस्वस्थानीको साङ्गे गरिदिए, सातामा कहीं न कहीं पूजा, श्राद्ध गरिरहन्छन्। सोह्रश्राद्धमा उनी सबैभन्दा व्यस्त हुन्छन्। यसैबाट पाँच जनाको परिवार पालिरहेका छन्। दलित समुदायमा पूजाअर्चना र तिथि, श्राद्ध कमै हुने गरे तापनि पछिल्ला दिनमा यस्तो संस्कार बढिरहेको उनको भनाइ छ।
बिकको घरमा श्रीमद्भागवत, अग्निस्थापना, श्रीस्वस्थानी ब्रतकथा जस्ता थुप्रै हिन्दू कर्मकाण्डका किताबका चाङ छन्। कर्मकाण्डको विधिशास्त्रमा एउटा सूर्याेदयभित्र ब्राह्मणले एकठाउँमा मात्र पुजिनुपर्ने लेखिएको तर कतिपय पुरोहितले दिनमा चार वटासम्म श्राद्ध भ्याउँदा शास्त्रकै अपमान भएको उनको ठहर छ।
शूद्रले शास्त्र पढ्नुहुँदैन भनी कतिपयले अहिले पनि भन्ने गरेको बिकले सुनेका छन्। तर, उनी यसलाई नबुझ्नेको तर्क ठान्छन्। दलितमाथिको छुवाछूत विरुद्धमा त संस्कृत श्लोकमै जवाफ दिइएको उनको भनाइ छ। उनी भन्छन्, “जन्मना जायते शूद्रः संस्कारात् द्विज उच्यते अर्थात् जन्मले सबै शूद्र हुन्, कर्मले उठाउँदै लैजानुपर्दछ।”
गोपाल गडतौला, झापा