समाचारशनिबार, आश्विन १६, २०७२

सीमा पारीबाट ढुंगा हान्ने र वारी नै धर्ना दिनेबीच विवाद

हिमालखबर

सीमापारी भारतीय भूमिमा पुगेर ढुंगा हान्नेहरु र आन्दोलन नेपाली भूमिमै गर्नुपर्छ भन्नेहरु बीच नेपालगञ्ज–रुपैडिहा सीमा क्षेत्रमा विवाद भएको छ ।

सीमा नाकामा अवरोध गर्ने भन्दै प्रदर्शनमा उत्रिएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता–कार्यकर्ता सीमा पारी भारतीय भूमिमा पुगेर गाडीमा ढुंगामुढा गर्न थालेपछि धर्नामा सहभागी फोरम लोकतान्त्रिकका जिल्ला नेताहरुले विरोध जनाएका छन् ।

फोरम लोकतान्त्रिकका बाँके अध्यक्ष हिरालाल लोनियाले आन्दोलनमा भारतीय भूमि प्रयोग नगरौं भन्दा विवाद भएको जानकारी दिए ।

“सामान लिन भारततर्फ जाँदै गरेका ट्रकलाई उनीहरुले (लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता) उतैबाट ढुंगा हानेपछि, मैले आन्दोलन भारतीय भूमिमा होइन, नेपालमै बसेर गरौं भनेको थिएँ,” लोनियाले भने, “उल्टो मलाई पुलिसको एजेन्ट, घुस्याहा भन्न थाले ।”

मोर्चाका कार्यकर्ताले भारतीय भूमिमा पुगेर ट्रकमा ढुंगा हान्दा एसएसबीले उनीहरुलाई रोकेको थिएन । अहिले पनि मोर्चाका कार्यकर्ताहरु सीमा पारीबाटै धर्ना दिइरहेका छन् ।

लोनियाले भारतीय भूमिबाट ढुंगामुढा गर्ने र उतैको भूमिमा पुगेर धर्ना दिंदा समग्र आन्दोलनकै बद्नाम भइरहेकोमा आफूलाई चिन्ता लागेको बताए ।

“कुटाई खाए पनि, पक्राउ परे पनि नेपालीको आन्दोलन नेपाली भूमिमै हुनुपर्छ,” उनले भने ।

यता थरुहट मधेश संयुक्त संघर्ष समिति बाँके प्रवक्ता पशुपतिदयाल मिश्रले भने विवाद सामान्य भएको बताए । उनले भने, “हाम्रो आपसी विवाद हो, त्यस्तो ठूलो केही होइन ।”

अहिले फोरम लोकतान्त्रिकका कार्यकर्ता नेपाली भूमिमा छन् भने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता–कार्यकर्ता पारी छन् ।

तीनवटा मात्रै गाडी आए
१६ असोजमा रुपैडिहाबाट ३ वटा मालबहाक गाडी मात्रै नेपाल भित्रिएका छन् ।

एक ट्याक्टर काचो कपडा, एक मिनिट्रक आलु र एक मिनिट्रक साइकल भित्रिएको जमुनाहा प्रहरी चौकीले जानकारी दिएको छ ।
सीमा क्षेत्रमा प्रदर्शनकारीले धर्ना दिएपछि भारतीय भन्सारबाट क्लियरेन्स लिएर नेपाल आउन लागेका १० वटा पेट्रोल ट्याङ्करहरु उतै रोकिएका छन् ।

अन्य दिन जस्तै साना सवारीसाधनहरुमा भने अवरोध छैन ।
केशव राना/बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>