समाचारशनिबार, आश्विन १६, २०७२

आपूर्ति सहज पार्न भारत तयार

हिमालखबर

deepkumar 1करिब डेढ सातादेखि लगाएको नाकाबन्दीका कारण नेपालतर्फ रोकिएको अत्यावश्यक सामग्रीहरुको आपूर्ति सहज पार्न भारत तयार भएको छ ।

नयाँदिल्लीमा रहेका भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायका अनुसार शनिबार, १६ असोजमा भएको छलफलपछि भारतको विदेश मन्त्रालयका अधिकारीहरु पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यक सामग्रीको आपूर्तिमा भइरहेको व्यवधान हटाउन तयार भएका हुन् ।

“नेपाली जनताले पाएको दुःखलाई मध्यनजर गर्दै मैले आपूर्ति सहज पार्न अनुरोध गरें, उहाँहरुले आपूर्ति छिटै सहज बनाउँछौं भन्नुभएको छ” उपाध्यायले नयाँदिल्लीबाट टेलिफोनमा हिमालखबरलाई भने, “छिटै भन्नाले केही दिन हैन, केही घण्टामै काम होस्– मैले भनेको छु ।”

भारतले नेपालमा नाकाबन्दी गरेको औपचारिक रुपमा स्वीकार गरेको छैन ।

“सीमाक्षेत्रमा उत्पन्न असहज अवस्थाका कारण नेपालतर्फ आपूर्ति हुन नसकेर भारतीय भूमिमा रहेका पेट्रोलियम पदार्थ बोकेका तथा मालबाहक सवारीलाई सकेसम्म सहज रुपमा नेपालतर्फ पठाउने व्यवस्था मिलाउन उहाँहरु तयार हुनुभएको छ” राजदुत उपाध्यायले भने, “नेपालतर्फ पनि सकेसम्म मालबाहक गाडी जाने सहज अवस्था होस्, भन्सार लगायतका नेपाली कर्मचारीले दिनरात नभनी छिटोछिटो काम गरुन् भनेर उहाँहरुले भन्नुभो ।”

राजदुत उपाध्याय नयाँदिल्लीको सन्देश बोकेर काठमाडौं आएका र शुक्रबार, १५ असोजमा मात्र पुनः नयाँदिल्ली फर्केका थिए ।

“चाडबाडको मुखमा आपूर्ति असहज हुँदा जनताले निकै दुःख पाए, तपाईंहरुले नेपाली जनताले दुःख पाउन् भन्ने चाहनुभएको हैन होला भनेर मैले आज पनि कुरा गरें” उपाध्यायले भने, “उहाँहरुले हामी आफ्नोतर्फ रोकिएका गाडीहरु सहजरुपमा नेपालतर्फ पठाउन सहयोग गर्छौं, उता पनि यस्तै सहज अबस्था बनाउनुस् भन्नुभएको छ ।”

स्रोतका अनुसार विदेशमन्त्रालयले नेपालतर्फ आवागमन र मालसामानको आपूर्ति सहज पार्न मातहतलाई निर्देशन दिइसकेको छ । तर, बन्द नाकाहरु खुलिसकेका भने छैनन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>