समाचारआइतबार, आश्विन १७, २०७२

कोरल्ला नाका खुलाउन तिब्बत इच्छुक

हिमालखबर

नेपाल र चीनबीच व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र उत्तम मानिएको मुस्ताङको कोरल्ला नाका खोल्न चिनियाँ तिब्बती अधिकारी इच्छुक देखिएका छन् ।

मुस्ताङको सीमा प्रशासन कार्यालय र ढोङबासेन जिल्लाका अधिकारीहरुबीच मुस्ताङको लोमान्थाङमा भएको वार्ताका क्रममा छिटो नाका खोल्नका लागि तिब्बती अधिकारी इच्छुक देखिएका हुन् ।

वार्ताका क्रममा नाका सञ्चालन गराउन चीन सरकारले नै निर्णय गर्नुपर्ने र त्यसका लागि आफूहरुले पहल गर्ने तिब्बती अधिकारीहरुले आश्वासन दिएको सीमा प्रशासन कार्यालय मुस्ताङका प्रमुख कृष्णराज ढकालले जानकारी दिए ।

“तत्काल नाका सञ्चालनका लागि उहाँहरु (तिब्बती अधिकारी) इच्छुक देखिनुभयो” सीमा प्रशासन कार्यालय प्रमुख ढकालले भने, “त्यसका लागि बेइजिङबाट नै निर्णय गर्नुपर्ने भएकाले दुईपक्षीय सरकारले गर्नुपर्छ भन्ने राय आयो ।”

नेपालका परराष्ट्र सचिव र चीनका रातदूतका बीचमा सन् २००३ मा यो नाका सञ्चालन गर्नका लागि सम्झौता भएको थियो ।

सन् २०१२ मा पनि यस्तै सम्झौता भए पनि नाका सञ्चालन हुन सकेको छैन ।

कोरल्ला नाकाबाट पोखरा २०० किमी टाढा छ भने भारतसँगको सुनौली नाकासम्म मुस्ताङ–म्याग्दी–पर्वत–स्याङ्जा–पाल्पा हुँदै जम्मा ३४४ किमी पर्छ ।

उपल्लो मुस्ताङमा सञ्चालन भइरहेका मोटरसाइकलले अहिले पनि तिब्बतबाटै पेट्रोल लिँदै आएका छन् ।

पेट्रोलियम पदार्थ ल्याउनका लागि केही लामो दूरी पार गर्नुपर्छ तर अन्य सामग्री तत्काल ल्याउन सकिने देखिएको ढकालले बताए ।

अहिले मुस्ताङका लागि मात्रै भए पनि पेट्रोलियम पदार्थ ढुवानी गर्ने प्रयास थालिएको हो ।

कोरल्ला नाका तत्काल सञ्चालन गर्न सकिने व्यापारिक र धार्मिक दृष्टिकोणले नाका सञ्चालन गर्न आवश्यक देखेर तिब्बती पक्षको धारणा बुझ्न मुस्ताङका सीमा प्रशासकलाई खटाइएको थियो ।

नाकामा तिब्बतले तारबार र ढोकासमेत लगाएका कारण प्रारम्भिक चरणमा ढोका खोलेर आवागमन सहज बनाउनका लागि प्रयास भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले बताए ।

सडकको पहुँचसमेत पुगेको र भत्केको सडक मर्मतका लागि मुस्ताङमा सुरक्षाकर्मी र स्थानीयवासी समेत कुटोकोदालो बोकेर लाग्न तयार भएर बसेको प्रजिअ बरालले बताए ।

“दुई देशका बीचमा सम्झौता भइसकेकाले अब सञ्चालनका लागि कूटनीतिक पहल गरे मात्रै पुग्छ” उनले भने, “चीनलाई सुरक्षाको प्रत्याभूति दिएर नाका खोल्न सकिन्छ ।”

अहिले त्यहाँ धेरै समयपछि सीमा प्रशासन कार्यालय र भन्सार कार्यालय राखिएको छ भने नेप्चुङमा भन्सार कार्यालयसमेत सञ्चालनमा आइसकेको छ ।

नाका सञ्चालन गर्न र सुक्खा बन्दरगाह बनाउनका लागि अहिले सीमा क्षेत्रमा जग्गा अधिग्रहणको काम अघि बढाइएको छ ।
भन्सार, सुरक्षा निकायका लागि ५०० रोपनीभन्दा बढी जमिन अधिग्रहणका लागि काम भइरहेको उनले बताए ।

विसं ०६२/६३ अघिसम्म यो नाका खुला थियो । दुवै देशका सीमा क्षेत्रका नागरिक सजिलै आवतजावत गर्न र दैनिक उपभोग्य सामान किनबेच गर्न सक्थे ।

तर, त्यसपछि चिनियाँ पक्षले सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएपछि नाका बन्द भएको मुस्ताङका पत्रकार तिलक विश्वकर्माले बताए ।

चिनियाँ पक्षले सीमा क्षेत्रमा सेना नै परिचालन गरेर नेपालीलाई प्रवेशमा रोक लगाएको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>