थप समाचारआइतबार, आश्विन १७, २०७२

भारतबाट पेट्रोलियम अझै आएन

हिमालखबर

भारतीय विदेशमन्त्रालयले अघोषित नाकाबन्दी खोल्न मातहतका निकायलाई निर्देशन दिएको भनिए पनि पूर्वको पानी टंकीदेखि पश्चिमको गड्डा चौकी सम्मका नाकाबाट पेट्रोलियम पदार्थका गाडी १७ असोज मध्याह्न १२ बजेसम्म नेपाल भित्रिएका छैनन् ।

भैरहवा-सुनौली हिजो अस्ती जस्तै
भारतबाट सामान आयात हुने  प्रमुख मध्येको नाका भैरहवा–सुनौलीमा हिजोअस्ती भन्दा फरक छैन । १७ असोज मध्याह्नसम्म २४ वटा गाडी भारतबाट भित्रिए पनि पेट्रोलियम पदार्थका एउटा पनि गाडी नेपाल प्रवेश गरेका छैनन् ।

तीमध्ये केही पर्यटकका सवारी साधन र केही खाद्यान्न, फलफूल र तरकारी बोकेका गाडी हुन् ।

“हिजोअस्तिभन्दा प्रगति देखीएको छैन,” अञ्चल प्रहरी प्रमुख गणेश केसीले भने, “स्थानीय स्तरको पहलबाट हिजोअस्ति आए जस्तै अवस्था छ । नेपालीले संकट भोगेका सामान बोकेका गाडी आएका छैनन् ।”

नेपालगञ्जमा पनि आपूर्ति सहज भएन
नेपालगञ्ज–रुपैडिहा नाकाबाट पनि १७ असोज दिउँसो सम्म सहजरुपमा आपूर्ति हुन सकेको छैन ।

मध्याह्न १२ बजेसम्म रुपैडिहा हुँदै आलुका ३, सिमेन्टका ३, क्लिंकरको १ र मार्बलको एउटा गाडी मात्रै भित्रिएका छन् ।

“नाकाबन्दी नहुँदा यतिबेलासम्म एक सय बढी गाडी भित्रिसक्थे तर, अझैं आपूर्ति सहज भैसकेको छैन,” जमुनहा प्रहरी चौकी इन्चार्ज विष्णु गिरीले भने

दुईदिनअघि रुपैडिहा भन्सारले क्लियरेन्स दिएका मालवाहक गाडीहरु अझै सम्म पनि नेपाल नआएको उनले बताए ।
यता मधेशी मोर्चाका कार्यकर्ताले आज पनि नेपालगञ्ज–रुपैडिहा सीमामा अवरोधको प्रयास गरेका छन् ।

प्रहरीले तीनजना आन्दोलनकारीलाई पक्राउ गरेपछि अहिले नेपाली भूमिमा आन्दोलनकारीहरु देखिएका छैनन् । तर दशगजा क्षेत्रमा भने केही आन्दोलनकारीहरु रहेको प्रहरीले जनाएको छ ।

पश्चिम नाका पनि उस्तै
६ असोजदेखि भारतले नाकाबन्दी गरेपछि असहज बनेको पश्चिमी सीमा नाका गड्डाचौकी १७ असोज दिउँसोसम्म पनि उस्तै छ ।

‘‘उस्तै छ, सहज भएको छैन । आज पनि भारतबाट गाडी आएका छैनन,’’ गड्डाचौकी इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक राजेन्द्र बहादुर चन्दले भने ।

भारतीय नम्बर प्लेटका गाडी ७ असोजदेखि नै नेपाल प्रवेश नगरेको उनले बताए । केही नेपाली गाडी मात्रै आवत जावत गरिरहेको प्रनानि चन्दले जानकारी दिए ।

भारतबाट दैनिक उपभोग्य सामान आयात हुने कञ्चनपुरमा नाकाबन्दी पछिको अवस्था असहज बनेको छ ।

मोटरसाइकल र साइलकहरुमा घरायसी उपयोगका सामान आयात गर्न भने रोकटोक गरिएको छैन ।

पूर्वबाट पनि पेट्रोलियम पदार्थ आएन

पूर्वको काकडभिट्टा पानी टंकी नाकाबाट १७ असोज दिउँसो ८७ वटा गाडी भित्रिए पनि त्यसमध्ये एउटा पनि पेट्रोलियम पदार्थको गाडी छैन

मेची भन्सार कार्यालयका अनुसार आज भित्रिएका ८७ वटा गाडीमध्ये सबैभन्दा धेरै सिमेन्ट उद्योगका लागि आवश्यक क्लिंकर बोकेका २८ वटा ट्रक र आलु १९ ट्रक भित्रिएको छ भने बाँकी फलफूल, तरकारी र अन्य सामानका छन् ।

दीपक ज्ञवाली,बुटवल /केशव राना, नेपालगञ्ज / बच्चु विक, महेन्द्रनगर / गोपाल गडतौला, काकडभिट्टा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>