समाचारआइतबार, आश्विन १७, २०७२
शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित
व्यवस्थापिका–संसद्को बैठक दुई वटा शोकप्रस्ताव पारित गर्दै स्थगित गरिएको छ ।
नेपाली कांग्रेसका नेता नरबहादुर थापा र एमाओवादीका नेता रामचरण चौधरीको निधनमा बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो ।
गोर्खा परिषद्बाट २०१५ सालको संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित तथा लोकतन्त्रको स्थापनामा सक्रिय भूमिका निर्वाह गरेका नेता थापाको ९० वर्षको उमेरमा ३ असोज स्युचाटारस्थित आफ्नै निवासमा हृदयघात भई निधन भएको थियो ।
यसैगरी, २०६४ सालको संविधानसभाको निर्वाचनमा बर्दिया क्षेत्र नं ४ बाट निर्वाचित एमाओवादीका नेता तथा पूर्वमन्त्री चौधरीको भेरी अञ्चल अस्पतालमा पेटको क्यान्सरको उपचारका क्रममा १५ असोजमा निधन भएको थियो ।
उनीहरूको निधनमा बैठकले एक मिनेट मौनधारण पनि गरेको थियो ।
यसअघि सभामुख सुवास नेम्वाङले राष्ट्रपतिबाट सातदिनभित्र नयाँ मन्त्रिमण्डल गठन गर्नका लागि गरिएको आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए । व्यवस्थापिका–संसद्को अर्को बैठक आगामी २२ असोज दिउँसो १ बजे बस्ने छ । रासस