समाचारआइतबार, आश्विन १७, २०७२
‘जोगबनीमा ड्राइभर भागेपछि पेट्रोल भित्रिएन’
पेट्रोलियम पदार्थ बोकेर भारतको जोगबनीबाट विराटनगरतर्फ आउँदै गरेका दुईवटा ट्याङकरका चालक (ड्राइभर) भागेपछि अहिले उक्त नाका ठप्प भएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीका अनुसार भारतबाट भन्सार क्लियरेन्स गरेर नेपालतर्फ आउँदै गरेका गाडीहरुमध्ये अघिल्लो पंक्तिमा रहेका दुईवटा ट्यांकरका ड्राइभर भागेपछि मालबाहक गाडीहरु भित्रिन सकेका छैनन् ।
दुबै ड्राइभर भारतीय नागरिक हुन् । उनीहरुलाई नियतबस भगाइएको हो वा आफै भागेका हुन् भन्ने थाहा हुन नसकेको प्रजिअ कार्कीले बताए ।
“उनीहरु किन भागे भन्ने थाहा छैन, कसैले केही कुरा लगायो की,” प्रजिअ कार्कीले भने, “ उनीहरुलाई खोज्ने र पछि रहेका अरु गाडीहरुलाई कसरी निकाल्ने भन्ने प्रयास भइरहेको छ ।”
उक्त दुई गाडीका पछाडी नेपालतर्फ आउने अन्य गाडीहरुको लाम लागेको र घुमाउने ठाउँ पनि नभएकाले पछिल्ला गाडीहरु पनि नेपालतर्फ आउन नसकेका हुन् ।
यसअघि विराटनगर रानी भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेत र भारत जोगवनी भन्सारका प्रमुख प्रनेश गुप्ताबीच छलफल भई नाका खोल्न पाँचबुँदे सहमति भएको थियो ।
सामान जाँचको प्रक्रियालाई सहज बनाउने, ग्यास, इन्धन, खाद्यान्न र औषधिलगायत सामानलाई सहज रुपमा आपूर्तिको व्यवस्था मिलाउने, नेपालतर्फ भारतीय गाडीको सुरक्षाको प्रबन्ध मिलाउने र भन्सारमा उद्योग वाणिज्य सङ्घको सहायता कक्ष (हेल्प डेस्क) राख्नेलगायतको सहमति भएको विराटनगर भन्सार कार्यालय प्रमुख बस्नेतले बताए ।
अहिले भारतको जोगवनीमा करिब सात सय विभिन्न मालवाहक गाडी नेपालतर्फ आउने प्रतिक्षामा रोकिएका छन् ।
यसअघि १६ असोजमा भारतीय विदेशमन्त्रालयले नेपालमा आपूर्ति सहज बनाउन मातहतका निकायलाई निर्देशन दिइसकेको भन्ने समाचार आए पनि १७ असोज अपराह्नसम्म नेपालमा पेट्रोलियम पदार्थ बोकेका एउटा पनि गाडी आएका छैनन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
