समाचारआइतबार, आश्विन १७, २०७२
एमाओवादीकै मञ्चमा बाबुराम
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले परित्याग गरेको पार्टी एमाओवादीकै मञ्च प्रयोग गरिरहेका छन् ।
मधेश आन्दोलनलाई समर्थन जनाउँदै तराई–मधेशका जिल्लाहरुमा दौडधुप थालेका भट्टराईले एमाओवादीकै जनवर्गीय संगठनहरुले आयोजना गर्ने मञ्च प्रयोग गर्दै आएका छन् । मधेश केन्द्रित दलहरुले जनकपुरमा भट्टराईलाई प्रवेश गर्न नदिने चेतावनी दिएपछि भट्टराईले भर्खरै परित्याग गरेको पार्टी एमाओवादीको जातीय संगठनहरुको ब्यानर प्रयोग गर्न थालेका हुन् ।
गृहजिल्ला गोरखा हुँदै रुपन्देही पुगेका भट्टराईले धकधईमा एमाओवादी निकट मधेश मुक्ति मोर्चासहित विभिन्न दलको संयुक्त आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गरे । एमाओवादी पोलिट्ब्यूरो सदस्य रहेकी पत्नी हिसिला यमी, एमाअाेवादीकाे मधेश इन्चार्ज रामचन्द्र झासहित धकधई पुगेका भट्टराईले मधेश शोकमा रहेकाले समर्थन गर्न आएको बताए ।
जनकपुरमा बहिष्कार गरेपनि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा रुपन्देहीका कार्यकर्ताले भट्टराईद्वारा सम्बोधित कार्यक्रममा सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा मातृका यादव नेतृत्वको माओबादी निकट संघीय मधेशी मुक्ति मोर्चाका देबेन्द्र पाण्डे, हिरा निशाद राहुल लगायतका नेताहरुको पनि सहभागिता थियो ।
पार्टी परित्यागपछि मधेशी तथा जनजातिको मन जित्ने दाउमा देखिएका भट्टराईले कतै एमाओवादीको जातीय संगठन र कतै मधेश केन्द्रित दलहरुसँग संयुक्त मञ्च प्रयोग गरिरहेका छन् ।
उनले १८ असोजमा बुटवलमै समाजबादी अध्ययन केन्द्रको ब्यानरमा हुने कार्यक्रमलाई सम्बोधन गदैछन् भने पाल्पामा एमाओबादीकै मोर्चा मगर मुक्ति मोर्चाको ब्यानरमा हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
-दीपक ज्ञवाली, बुटवल