समाचारसोमबार, आश्विन १८, २०७२
फेरि प्रधानमन्त्री बन्न लागेको छैनः कोइराला
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफू फेरि प्रधानमन्त्री बन्न नलागेको बताएका छन् ।
बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री कोइरालाले पूर्वसहमति अनुसार नै नयाँ सरकार बन्ने बताए । उनले भने, “समाचार आएजस्तो प्रधानमन्त्री बन्न लागेको छैन ।” उनले पार्टीमा आधिकारिक निर्णय गरेर आउने बताए ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले विगतमा भएको भद्र सहमतिको सम्झना गराएलगत्तै प्रधानमन्त्री कोइरालाले यस्तो बताएका थिए । दाहालले प्रमुख दलहरुबीच सम्पन्न सहमति अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहमतीय सरकारको प्रधानमन्त्री बन्ने बताए ।
१६ बुँदे राजनीतिक सहमतिसँगै सहमतीय सरकारको नेतृत्व ओलीले गर्ने भद्र सहमति भएको बताएका थिए । दाहालले ओली प्रधानमन्त्री बन्ने सहमतिबारे प्रष्ट्याएपछि ओलीले पनि त्यसैमा जोड दिए ।
ओलीले सहमतीय सरकार बन्नुपर्ने बताएका थिए । बैठकमा सहभागी अधिकांश दलहरुले सहमतिमा सरकार बन्नुपर्नेमा जोड दिएका थिए ।