समाचारमंगलबार, आश्विन १९, २०७२
नाकावन्दी गर्नु बेकुफी: भारतीय नागरिक
नेपालको संविधानमा असन्तुष्टि जनाउँदै भारतले गरेकोे ‘नाकाबन्दी’ नेपालीलाई मात्र होइन, नेपालमा बसिरहेका भारतीयलाई पनि चित्त बुझेको छैन । भारतको यो कदम मुर्खतापूर्ण र दीर्घकालिन रुपमा नेपाल–भारत सम्बन्धको हित विपरित रहेको उनीहरुको भनाइ छ ।
‘१९९० सम्झिएँ’
हाल नर्भिक अस्पतालमा मुटु रोगका चिकित्सक डा. भारत रावत २५ वर्षअघि नेपाल आउँदा पनि भारतले नाकाबन्दी गरेको थियो ।
भारतको मध्य प्रदेश इन्दौरबाट नेपाल आएर स–परिवार यतै बस्दै आएका रावत पछिल्लो समय नेपाल–भारत सम्बन्धमा देखिएको विवादले चिन्तित छन् । उनी भन्छन्, “चिन्तित छु । मैले चाहने दुई देशबीच सधैँ सुमधुर सम्बन्ध रहोस भन्ने नै हो ।”
भारतले नेपालमा नाकाबन्दी लगाएपछि पेट्रोलियम पदार्थको आपूर्ति सहज नबन्दा आवत जावतमा समस्या परेको बताउने उनी अगाडी भन्छन, “टाढा–टाढाबाट उपचारका लागि आउने र उपचार गरी फर्किनेहरुलाई समस्या परेको छ ।” भारतले नेपाललाई भेदभावपुर्ण व्यवहार गर्न नहुने उनी बताउँछन् ।
सार्क सम्मेलनमा नेपाल आएर सम्बन्धलाई मजबुत बनाएका भारतीय प्रधानमन्त्री मोदीले अहिलेको समस्याको तत्काल समाधान निकाल्ने गरी पहल थाल्नुपर्ने उनको धारणा छ । सन् १९९० मा उनी नेपाल आउँदा अहिलेको जस्तै विवाद देखिएको भन्दै उनी भन्छन्, “अब दुई देशको सम्बन्धमा आँच नआओस् र नेपालीले दुख नपाउन् ।”
‘भारतको व्यवहार मुर्खतापूर्ण’
भारतको दिल्लीबाट १० वर्षअघि नेपाल आएका जीत राघव (४२) को सामान सीमा पारी अलपत्र छ ।
ललितपुरको ज्वागलमा रहेको राघवको प्रिन्टिङ प्रेसका सामान भारतको नाकाबन्दीका कारण उतै रोकिएको छ ।
अघोषित नाकाबन्दीको चर्को विरोध गर्दै उनी भन्छन्, “नाकाबन्दी गरेर संविधान परिवर्तन हुने होइन । यो भारतको मुर्खतापूर्ण काम हो ।” उनी भारत सरकार र प्रशासनको बेवकुफीले समस्या निम्तिएको बताउँछन् ।
‘भारतलाई नेपालको संविधान रोक्ने अधिकार छैन । नेपालमा नयाँ संविधान बन्दा भारतले असहमति जनाउन पाउँछ । तर आन्तरिक मामलामा हस्तक्षेप गर्न पाउँदैन,” उनी भन्छन् ।
तराई क्षेत्रमा निम्तिएको असहज परिस्थितिलाई वार्ताको माध्यमबाट सुल्झाउन सकिने उनको धारणा छ ।
‘भारतीयलाई पनि दुख’
चिकित्सा शास्त्र अध्ययनका क्रममा नेपाल आएका अभिनिस कुमार सिंह हाल भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेका छन् । भैरहवा, खजनामा बस्ने उनी भारतको बनारसबाट पाँच वर्ष अघि नेपाल आएका हुन् ।
भारतले नाकाबन्दी लगाएर राम्रो काम नगरेको बताउँदै उनी नाकाबन्दी खोल्न भारतले तत्काल कदम चाल्नुपर्ने बताउँछन् । “नेपाल–भारत सम्बन्धलाई खलल पार्ने गतिविधि हुनु हुँदैन, नेपालमा अप्ठ्यारो पर्दा नेपालीलाई मात्रै होइन भारतीयलाई पनि उत्तिकै दुख हुन्छ,” उनी भन्छन् ।
‘अब के खाने ?’
भारतको उत्तर प्रदेश, अलिगढबाट ८ वर्षअघि नेपाल आएका महेन्द्र प्रकाश (५०) पुस्तकको व्यापार गर्छन् । ६ जनाको परिवार कमाइ गर्ने उनी एक्ला हुन् ।
अद्वैत मार्ग बागबजारमा भाडामा बस्दै आएका उनी भन्छन्, ‘खानेकुरा एक/दुई दिनका लागि मात्र बाँकी छ । के खाएर बस्ने ?’
नेपालमा नयाँ संविधान जारी भएपछि भारतले चालेको कदमप्रति उनको चित्त बुझेको छैन ।
“भारतले गर्नै नहुने काम गर्यो । यो मुद्दा अन्तर्राष्ट्रियकरण भए भारतलाई नै समस्या पर्छ,” उनले थपे । भारतले नाकाबन्दी लगाउँदा आफूजस्ता थुप्रै भारतीयले नै दुख पाएको उनले बताए ।
‘भारतलाई फाइदा छैन’
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रेजिडेन्ट चिकित्सकका रुपमा कार्यरत भारत, नोयडाका आदित्य सिंघल भारतको नाकाबन्दीले गर्दा धेरै दुख पाएको बताउँछन् ।
“पहिलो त खाना पकाउने ग्यासको अभाव छ, पेट्रोल छैन,” उनी भन्छन् । अस्पतालको क्यान्टिनमा समेत दाउराले खाना पकाउन थालिएको बताउने उनी दशैं विदामा घर फर्कने तयारीमा छन् ।
पेट्रोलियम पदार्थको अभाव कायम रहिरहे घर जान र उताबाट फर्किन समेत गाह्रो हुने उनी बताउँछन् । “नेपालको संविधानमा असन्तुष्टि जनाएर भारतले नाकाबन्दी गर्नुलाई उनले ‘अचम्म र नचाहिंदो काम’ भने ।
‘नाकाबन्दी लगाउनु भएन’
भैरहवाको युनिभर्सल मेडिकल कलेजमा पढिरहेका अभिनिस कुमार सिंह नाकाबन्दीका कारण चिन्तित् छन् ।
भैरहवा, खजनामा बस्दै आएका उनी भारतको बनारसबाट पाँच वर्ष अघि नेपाल आएका हुन् ।
भारतले गरेको नाकाबन्दीले नेपाल–भारत सम्बन्धमा दीर्घकालिन असर पु¥याउने उनको ठम्याइँ छ ।
“भैरहवामा पेट्रोलियम पदार्थको अभाव छ, छिमेकमा दुख दिएर कसलाई फाइदा हुन्छ र !” उनले भने, “भारतले तत्काल नाकाबन्दी खोल्नुुपर्छ ।”
नजिकका छिमेकी नेपाल र भारतबीचको सम्बन्ध सँधै राम्रो हुनुपर्ने र त्यसका लागि भारतले तुरुन्तै पहल थाल्नुपर्ने उनको भनाई छ ।
रामु सापकोटा