समाचारमंगलबार, आश्विन १९, २०७२
कांग्रेस महाधिवेशन फागुनमा गर्ने प्रस्ताव
नेपाली कांग्रेसको पदाधिकारी बैठकले पार्टीको १३ औं महाधिवेशन आगामी फागुनको पहिलो साता गर्ने प्रस्ताव तयार गरेको छ ।
उक्त प्रस्ताव २० असोजमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको सभापतित्वमा बसेको पदाधिकारी बैठकले आगामी माघ महिनाभित्र पार्टीको क्षेत्र, जिल्ला र गाउँ अधिवेशन सम्पन्न गर्ने र फागुनमा महाधिवेशन गर्न प्रस्ताव गरेको उपसभापति रामचन्द्र पौडेलले बताए ।
कांग्रेसको विधानअनुसार महाधिवेशन गर्ने मिति ५ असोजसम्म भएकामा नयाँ संविधानले गरेको व्यवस्था अनुसार थप ६ महिनाका लागि वर्तमान नेतृत्वको कार्यकाल लम्बिएको हो ।
नयाँ संविधान निर्माणको काममा सबै राजनीतिक दल व्यस्त हुनुपरेकाले पूर्व निर्धारित समयमा महाधिवेशन हुन नसकेको हो ।
आजको पदाधिकरी बैठकमा नयाँ सरकार गठन लगायत विषयमा अनौपचारिक विषयमा छलफल भएपनि केन्द्रीय कार्यसमिति बैठकमा यसबारे निर्णय हुनेछ । रासस