समाचारमंगलबार, आश्विन १९, २०७२

चीन जोड्ने कोदारी राजमार्ग खोल्न बजेटकै अभाव

हिमालखबर

सरकारले पर्याप्त बजेट नछुट्याउँदा नेपाललाई चीनसँग जोडने एक मात्र नाका अवरुद्ध भएको ५ महिनासम्म पनि खुल्न सकेको छैन ।

लिपिङ बजारक्षेत्रमा अवरोध । तस्वीर साभार: नेपालअपक्लोज

लिपिङ बजारक्षेत्रमा अवरोध । तस्वीर साभार: नेपालअपक्लोज

डम्बरकृष्ण श्रेष्ठ
सरकारले पर्याप्त बजेट नदिंदा भूकम्पले क्षति पुर्‍याएपछि ५ महिनादेखि बन्द रहेको चीनसँग जोडिने तातोपानी सडक सुचारु हुन सकेको छैन ।

भूकम्पपछि सरकारले ल्याएको बजेटमा उक्त राजमार्ग सुचारु गर्न रु. ६० लाख मात्रै बजेट छुट्याइएको छ, जबकी एक किमी सडक बनाउन अहिलेको अवस्थामा करिब रु. १ करोड खर्च हुन्छ । सडक विभागका सह प्रवक्ता लक्ष्मीदत्त भट्टका अनुसार सरकारले छुट्याएको ६० लाखले नपुगेर थप रु. ५ करोड माग गरिएको छ ।

भट्टले हिमालखबरसँग भने “चालु आर्थिक वर्षका लागि यो राजमार्ग मर्मत सम्भारका लागि सरकारले छुट्याएको रु. ६० लाख सकिएपछि अहिले थप रु. ५ करोड मागेका छौ ।” धेरै स्थानमा पहिरो गएर बाटो पुरिएको र कतिपयस्थानमा नयाँ ट्र्याक समेत खोल्नु पर्ने अवस्था देख्दा देख्दै पनि सरकारले नै कम बजेट छुट्याउनु उदेक लाग्दो छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले ८ वटा डोजरले बिहानदेखि बेलुकीसम्म लिपिङ बजारको ढुङ्गा हटाउने काम गरिरहेकाले १९ असोजसम्म खुल्ने जानकारी हिमालखबरलाई दिएका थिए । तर, उनले भनेको समयमा पनि मालबाहक ट्रक गुडने गरी सडक सुचारु हुन सकेको छैन ।

गिरीका अनुसार धेरै स्थानमा पुरिएको सडक खोल्न भूकम्प लगत्तै चिनियाँ प्रहरीले सहयोग गरेको थियो । उनी भन्छन् “चीनतिर सडकमा कुनै समस्या छैन, हाम्रैतिर मात्रै हो ।”

सडक विभागका पूर्व महानिर्देशक आनन्दप्रसाद खनाल सरकारले चीन जोडने सडकलाई जहिल्यै कम प्राथमिकता दिएको बताउँछन् । उनको भनाईमा देशका राजमार्गहरुमा राष्ट्रिय स्वार्थ भन्दा पनि व्याक्तिगत रुचीहरु गाँसिने गरेकाले यस्तो समस्याहरु आउने गरेको छ ।

उनी प्रश्न गर्छन, “सरकारले चाहने हो भने तातोपानीको सडक धेरै पहिले सुचारु भइसक्थ्यो । पहिले पहिरो हटाउन बजेट नैे नदिने सरकारले अहिले नाकाबन्दी भएपछि कसरी ८ वटा डोजर लगाएर काम गरिरहेको छ ?”

चीन जोडने मत्वपूर्ण नाका खोल्न सरकार विशेष योजनासाथ लाग्नु पर्नेमा एक किमी सडक बनाउने बजेट समेत नछुट्याउने सरकार र अर्थमन्त्री रामशरण महतको स्थानीय स्तरमा आलोचना भइरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>