समाचारमंगलबार, आश्विन १९, २०७२
जोगवनी नाकाबाट आज पेट्रोल एक ट्याङ्कर मात्रै

विराटनगर भन्सार नजिकै आन्दोलनकारीलाई भेला हुन नदिन सडकमा रहेका सुरक्षाकर्मी ।तस्वीरः कमल रिमाल
बिराटनगर-जोगवनी नाका खुल्ला गरी १८ असोजमा पेट्रोल, डिजलका ट्याङ्कर र ग्यास बुलेट गरी २८ वटा मालबाहक साधन नेपाल पठाएको भारतले १९ असोजमा भने एक ट्याङ्कर पेट्रोल मात्रै आउन दिएको छ ।
अघिल्लो दिन १४ ट्याङ्कर डिजेल, ११ ट्याङ्कर पेट्रोल, ३ बुलेट ग्यास र अन्य ट्रक गरी ७० वटा मालबहाक साधन नेपाल भित्रिएका थिए ।
दुई दिनअघि दुई देश बीचका प्रतिनिधि बीच लिखित सहमति गर्दै पहिलो चरणमा पेट्रोलियम पदार्थ, औषधि र अति आवश्यक वस्तु पठाउन भारतीय भन्सार राजी भएको थियो ।
विराटनगर भन्सार प्रमुख कृष्ण बस्नेतका अनुसार, बिहान ८ बजेबाट मालबाहक साधन नेपाल भित्रिन थालेपनि अन्य सामान बोकेका ३८ औ गाडी भित्रिएपछि अपराह्न सवा ४ बजे एउटा पेट्रोलको ट्याङ्कर आएको हो । साढे ७ बजेसम्ममा ७२ वटा मालबहाक साधन भित्रिई सकेका छन् । आज ट्याक्टर बढी आएका छन् ।
“भारत तर्फकाले लाइनमा जे अगाडि छ त्यही पठाउँछौ भन्छन,” बस्नेतले भने, “तर पेट्रोलियमका गाडी आएका छैनन् ।”
सोमबार बेलुका साढे ८ बजे भन्सार कार्यालय नजिकै सुरक्षाकर्मी बसेकै ठाउँमा सुतली बम बिस्फोट भएपछि नेपाल भित्रिन लागेका ट्याङ्कर फिर्ता लगिएको थियो ।
अघिल्लो दिन फर्किएका साधनसमेत आज पठाइएको छैैन । सीमा प्रहरी चौकीका प्रमुख विकास खत्रीले दसगजा छेउमा रहेका ट्याङ्कर पठाइ दिन एसएसबीलाई आग्रह गर्दा माथिको आदेश चाहिन्छ भन्ने जवाफ आएको बताए ।
नाकामा कडाइ
नेपाल तर्फ आन्दोलनकारी धर्नामा बसेको भन्दै भारतीय भन्सारले मालबहाक साधन पठाउन आनाकानी गर्ने भएकाले प्रहरीले आन्दोलनकारीलाई आज भेला हुनै दिएन ।
अपरान्ह साढे ४ बजे भेला भएका आन्दोलनकारीको समूहलाई जम्मा हुने क्रममै सशस्त्र र नेपाल प्रहरीले लखेटेको छ ।
अघिल्लो दिन बेलुका सुतली बम पड्किएपछि भारतीय पक्षले पेट्र«ोलियम पदार्थ बोकेका ट्याङ्कर दशगजा छेउबाटै फर्काएको थियो ।
यसैबीच आज बेलुका सवा ७ बजे जोगवनी बजारका भारतीयहरु ग्यास बुलेटमा आगो लाग्यो भन्दै दौडिएर नेपाल तर्फ आएका थिए । जोगवनीमा गलत हल्ला फैलिएकाले भारतीयहरु भागेर नेपाल तर्फ आएको प्रहरीले बताएको छ ।
कमल रिमाल, विराटनगर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
