समाचारबुधबार, आश्विन २०, २०७२
नाकाबन्दीकाे समर्थन नगरेपछि दूतावासले महासंघलाई बाेलाएन
आदिवासी जनजाति महासंघले मधेश आन्दोलनमा समर्थन नरहेको प्रतिक्रिया दिएपछि भारतीय राजदूतावासले केही जातीय संस्थाका अगुवाहरुसँग छलफल गरेको छ ।
भारतीय राजदूत रञ्जित रेले २० असोजमा केही जनजाति संघसंस्थाका अगुवाहरुलाई दूतावासमा बोलाएर छलफल गरेकाे हो । महासंघका महासचिव पेम्बा भोटेका अनुसार दूतावासले मधेश आन्दोलन र भारत सरकारले गरेको नाकाबन्दीबारे टेलिफोनमार्फत राय लिएको थियो ।
भोटेले भने, “१७ असोज दिउँसो ३ः३० बजेतिर दूतावासबाट फोन आएको थियो, मैले जनजातिको अजेण्डाबारे असन्तुष्टि रहे पनि राष्ट्रिय सार्वभौमिकतामाथि प्रश्न उठ्ने प्रकृतिका आन्दोलनमा समर्थन गर्न सकिदैन भन्ने प्रतिक्रिया दिएँ ।”
जनजाति संघसंस्थाहरुकै छात संगठन आदिवासी जनजाति महासंघले मुलुकको सार्वभौमसत्तामाथि नै प्रश्न उठ्ने आन्दोलन र नाकावन्दीमा समर्थन नरहने प्रतिक्रिया दिएपछि दूतावासले नाकाबन्दीलाई समर्थन गर्ने जनजाति अगुवाहरुसँग छलफल गरेको महासंघका सचिव भोटेले बताए ।
दूतावास पुगेका जनजाति नेताहरुले नेपालको संविधान निर्माणमा चासो दिंदै तराई–मधेशमा जारी आन्दोलनलाई समर्थन गरेकोमा दूतावासमार्फत भारत सरकारलाई धन्यवाद दिएका थिए ।
अंक गणितको संविधानले दीगो शान्ति हुँदैनः राजदूत रे
नेपालको संविधानमा जनजातिको असन्तुष्टिबारे राजदूत रेले चासो व्यक्त गर्दै अंक गणितको आधारमा बनेको संविधानले सवैलाई नसमेट्ने बताए । उनले भारतमा सवै जातिलाई समेट्ने संविधान रहेको दाबी गरेका थिए ।
झण्डै ४५ मिनेट लामो छलफलमा राजदूत रेले नेपालको दीगो शान्ति चाहेको बताए । रेलाई उदृत गर्दै छलफलमा सहभागी आङ्काजी शेर्पाले भने, “अंक गणितबाट बनेको संविधानले दीगो शान्ति संभव हुँदैन ।”
‘भारत विरोधी गतिविधि विरुद्धमा उत्रन्छौं’
“नयाँ संविधानमा जनजातिको अजेण्डा समेट्न साथ र समर्थन जनाएकोमा धन्यवाद दियौं”, शेर्पाले हिमालखबरसँग भने ।
उनीहरुले नेपालमा भइरहेको भारतविरोधी गतिविधि विरुद्धमा उत्रने आश्वासन समेत राजदूत रेलाई दिएका छन् । शेर्पाले भने, “कांग्रेस र एमालेका कार्यकर्ताले भारतको विरोधमा गतिविधि गरिरहेका छन्, हामी यसको विरुद्धमा उत्रन्छौं ।”
छिमेकी देशहरुबीचको सम्बन्धमा खलल पुर्याउने कार्य सरकार पक्षका दलहरुले गरिरहेकाले यसलाई रोक्नुपर्ने जनजाति नेताहरुले राजदूत रेलाई बताएका थिए ।
काठमाडौंमा उपलब्ध पासाङ शेर्पा, खगेन्द्र माखिम, आङ्काजी शेर्पा, महेन्द्र थापामगरलगायत दूतावास पुगेका थिए ।