समाचारबुधबार, आश्विन २०, २०७२
मोर्चाद्वारा भारतीय भूमिमा नेपालीमाथि आक्रमण
मधेशी मोर्चाका प्रदर्शनकारीले किनमेल गर्न भैरहवाको सीमावर्ती भारतीय बजार पुगेका रुपन्देहीका सर्वसाधारणमाथि आक्रमण गरी गम्भीर घाइते बनाएका छन् ।
रुपन्देहीको भलबाडीका कृष्णबहादुर घर्ती र अर्का एकजनामाथि रुपन्देहीको भैरहवा नजिक बेलहिया–सुनौली नाकामा भारतीय भूमिमै प्रदर्शनकारीले आक्रमण गरी घाइते बनाएका हुन् ।
“उनीहरुमाथि बोत्तल, रड लगायत प्रहार भएको भन्ने खबर आएको छ, अहिले घर्तीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ,” रुपन्देहीका प्रमुख जिल्ला अधिकार विष्णुप्रसाद ढकालले जानकारी दिए ।
आन्दोलन चर्काउन भन्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो हिजो १९ असोजदेखि भारतीय बजार सुनौलीमा बसिरहेका छन् ।
आजको प्रदर्शनमा उनी नदेखिए पनि सीमावर्ती बजारको होटेलमै बसेर आन्दोलनलाई उत्तेजक बनाउन उनी लागिपरेको बुझिएको छ ।
त्यस्तै सीमा क्षेत्रमा धर्ना दिन पुगेका मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको छ । झडपका क्रममा प्रहरीतर्फ ५ जना र केही आन्दोलनकारी समेत घाइते भएको प्रजिअ ढकालले बताए ।
उनीहरुले भारतीय भूमिमा रहेर केही बेर प्रहरीमाथि ढुंगा र गुलेलीले प्रहार गरेको ढकालले जानकारी दिए । यद्यपी अहिले भने आन्दोलनकारी नाका क्षेत्रबाट तितरबितर भइसकेका छन् ।