समाचारबिहीबार, आश्विन २१, २०७२
भैरहवा विमानस्थल नजिकै विस्फोट
भैरहवाको गौतमबुद्ध विमानस्थलको नजिकै आज बिहान बम विस्फोट भएको छ ।
विमानस्थल नजिकै रहेको घाग्रा खोलाको पुलमा २१ असोज विहान २:३० बजे पेट्रोल, डिजेललगायतका विस्फोट हुने सामग्री टायरमा बेरेर बनाएको बम विस्फोट भएको रुपन्देही प्रहरीले जनाएको छ ।
विस्फोटको आवाज तीन/चार किलोमिटर वरपरसम्म सुनिएको स्थानीयवासीले बताएका छन् । विस्फोटबाट स्थानीयवासीमा त्रास उत्पन्न भएको छ ।
विस्फोट किन र कसले गरायो भन्ने यकिन नभए पनि जनतालाई आतङ्कित पार्ने उद्देश्यले यो घटना घटाइएको हुनसक्ने रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक बुद्धिराज गुरुङको अनुमान छ ।
विस्फोटक पदार्थ ठूलो आवाज आउने किसिमको भए पनि त्यसले कुनै पनि मानवीय तथा भौतिक क्षति नगराएको प्रहरीले जनाएको छ ।
विस्फोट भएलगत्तै नेपाली सेना र नेपाल प्रहरी घटनास्थल पुगेको थियो । यसअघि पनि भैरहवाकै घाग्रा खोला नजिकै शक्तिशाली विस्फोटक पदार्थ राखेर विस्फोट गराइएको थियो ।
आफ्ना माग जसरी पनि पूरा गराउन दुई महिनादेखि आन्दोलनमा उत्रिएको मधेशी मोर्चाले विगत केही दिनदेखि सीमा नाकाहरुमा अवरोध गर्दै आएको छ । जसले तराईको जनजीवन अत्यन्तै कष्टकर बनेको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
