थप समाचारबिहीबार, आश्विन २१, २०७२
वीरगञ्ज: मोर्चाका कार्यकर्ताले एम्बुलेन्स जलाए
मधेशी मोर्चाका कार्यकर्तले वीरगन्जको नगवामा एम्बुलेन्समा आगो लगाएका छन् ।
भरतपुरबाट बिरामी बोकी २० असोज राति वीरगन्ज आएको ना२च ७५८६ नम्बरको एम्बुलेन्समा राति ८:३० बजे जलाइएको हो ।
भरतपुर अस्पताल विकास समितिले सञ्चालन गरेको निजी नम्बरको उक्त एम्बुलेन्समा आन्दोलनकारीले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिए ।
उनले वीरगन्ज आएपछि फर्कने बेला एम्बुलेन्सले केही औषधि लैजाँदै गरेकोमा मोर्चाका कार्यकर्ताले औषधी तस्करीको आरोप लगाएर आगजनी गरेको बताए ।
आगजनीबाट एम्बुलेन्स पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्समा आगजनी गर्ने व्यक्तिको पहिचान भइसकेको र केही दिनमै नियन्त्रणमा लिई मुद्दा चलाइने नायब उपरीक्षक बोगटीले जानकारी दिए ।
यसैबीच अपाङ्गले रक्सौलबाट खरिद गरी ल्याएको आलुप्याज लुटेको अभियोगमा दुईजना युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वीरगन्जको छपकैयास्थित इदगाह चोकमा २० असोज साँझ रक्सौलबाट खरिद गरी ल्याएको आलुप्याज अपाङ्ग व्यक्तिसँग लुटेको अभियोगमा दुईजना स्थानीय युवकलाई पक्राउगरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
रासस