समाचारबिहीबार, आश्विन २१, २०७२

कांग्रेस केन्द्रीय समितिको बैठक हुँदै गर्दा एमाले नेताहरु बालुवाटारमा

हिमालखबर

नेकपा एमालेका अध्यक्ष केपी ओली लगायतका नेताहरु बालुवाटारमा कांग्रेसको केन्द्रीय कार्य समिति बैठक जारी रहेकै बेला पुगेर प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गरेका छन् ।

अकस्मात प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई बैठक कक्ष बाहिरै भेटेर पत्र थमाउँदै नयाँ प्रधानमन्त्रीका लागि आफूलाई सहयोग गर्न आग्रह गरे ।

ओलीसँगै वरिष्ठ नेता माधवकुमार नेपाल, विद्या भण्डारी, प्रदीप ज्ञवाली समेत थिए ।

ओलीले कांग्रेस नेतृत्वको सरकार छँदा एमालेले खुला दिलले सहयोग गरेको भन्दै अब सहयोग गर्ने पालो कांग्रेसको भएकाले सहमतीय सरकार गठनमा जोड दिए ।

जवाफमा कोइरालाले केन्द्रीय कार्य समितिको जारी बैठकमा नयाँ सरकार गठनकै विषयमा छलफल भइरहेको भन्दै थपे, “अहिले बैठक भइरहेको छ, सिंगो संस्थाले नै निर्णय गर्छ ।”

त्यसपछि ओलीले ‘बलशाली निर्णय गर्नुस, मेरो शुभकामना छ’ भनेका थिए ।

ओलीले प्रधानमन्त्री कोइरालालाई दिएको पत्रमा संविधान निर्माणपछि नयाँ कानून बनाउन, कानून संशोधन गर्न समेत सहमति बन्नु पर्ने भन्दै तीन दलीय सहमति कायमै राखेर नयाँ सरकार गठनका लागि आग्रह गरिएको छ ।

त्यस्तै पत्रमा भारतले लगाएको नाकाबन्दीबाट उत्पन्न असहज परिस्थिति, भूकम्पपछिको पुनःनिर्माण लगायतका विषयमा पनि साझा सहमति निर्माण गर्दै अघि बढ्नु पर्ने उल्लेख गरिएको बुझिएको छ ।
कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>