समाचारशुक्रबार, आश्विन २२, २०७२

मन्त्रिपरिषद बैठकः इन्धनको वैकल्पिक आयातका लागि समिति गठन

हिमालखबर

सरकारले इन्धनको वैकल्पिक आयातको उपाय र मार्ग बारे अध्ययन गरी सिफारिस गर्न समिति गठन गरेको छ ।

मुख्य सचिव, अर्थ सचिव र वाणिज्य सचिव सदस्य रहने समितिको संयोजक वाणिज्य तथा आपूर्तिमन्त्रीलाई तोकिएको छ ।

भारतले नाकाबन्दी गरी इन्धन आपूर्ति ठप्प पारेका बेला समितिले अन्य देश र बाटोबाट इन्धन ल्याउनका लागि सरकारलाई उचित सिफारिस गर्नेछ ।

त्यसैगरी पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउनका लागि भारतसँग वार्ता गर्न परराष्ट्रमन्त्रीको संयोजकत्वमा मुख्य सचिव, वाणिज्य र आपूर्ति सचिव संलग्न टोली गठन गरिएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए ।

२२ असोज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैकल्पिक उर्जाको प्रयोग प्रवर्धन र उत्पादन बारे सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव, अर्थ सचिव र उर्जा सचिव समेत संलग्न समिति पनि गठन गरेको छ ।

त्यस्तै सरकारले महिलाको पाठेघरमा हुने क्यान्सरको जोखिम कम गर्नका लागि सवै सरकारी अस्पतालहरुमा निशुल्क जाँचको सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।

भूकम्पबाट क्षति भएका आवासहरुको पुन:निर्माणका लागि बनाइएको कार्यविधि पनि सरकारले स्वीकृत गरेको छ ।

यस्तै उर्जा सचिवलाई विद्युत प्राधिकरणको प्रमुखमा नियुक्त गरेको छ भने नेशनल ट्रेडिङको प्रमुखबाट पूर्ण शंकर डिसीलाई हटाएर सत्य नारायण मेहतालाई नियुक्त गर्ने निर्णय गरेको छ।विद्यार्थी वित्तीय सहयोग विकास समितिको अध्यक्षमा केदारप्रसाद शाहलाई नियुक्त गरेको छ।

द्वन्द्वकालमा मारिएका १६४ जना प्रहरी जनही ७ लाख दिने पहिलेको निर्णय अनुसार  रकम निकासा गर्ने र सगरमाथा आरोही मिनबहादुर शेरचनलाई ३ लाख दिने सरकारले निर्णय गरेको छ।

कपिल भट्ट, काठमाडौं‌

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>