समाचारआइतबार, आश्विन २४, २०७२
नयाँ प्रधानमन्त्रीको चयन केहीबेरमा शुरु हुँदै
नेपालको नयाँ संविधान जारी भएपछि नयाँ प्रधानमन्त्री पदको निर्वाचन अहिले केही बेरमा व्यवस्थापिका–संसद् भवन बानेश्वरमा शुरु हुँदैछ ।
प्रधानमन्त्री पदको प्रतिस्पर्धामा नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी ओली छन् ।
प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका–संसद् बैठक अहिले ११ बजेका लागि डाकिए पनि केही ढिलो भएको छ । दलहरु अझै आन्तरिक छलफलमै भएकाले बैठक बस्न ढिलो भएको हो ।
आजको व्यवस्थापिक संसदको कार्यतालीका अनुसार शुरुमा प्रधानमन्त्रीको निर्वाचनका लागि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, बाबुराम भट्टराईले सांसदबाट दिएको राजीनामा स्वीकृत भएको सूचना संसदलाई दिने र प्रधानमन्त्री सुशील कोइरालाले दिएको राजीनामाको पत्रको व्यहोरा सुनाउने छ ।
त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी ओलीले दिएको उम्मेदवारीको सूचनासँगै उनका प्रस्तावक र समर्थक १६ जनाले संसदमा बोल्ने छन् ।
त्यसपछि कांग्रेस सभापति सुशील कोइरालाको उम्मेदवारीको सूचनापछि उनका प्रस्तावक र समर्थकले बोल्ने छन् ।
संसद्को बैठकमा प्रधानमन्त्रीको पदमा उम्मेदवारी दर्ता गराएका उम्मेदवार, प्रस्तावक र समर्थनकर्ताले आ–आफ्नो धारणा राखिसकेपछि मतदान प्रक्रिया शुरु हुनेछ ।
एमाले अध्यक्ष ओलीलाई अहिलेसम्म एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक रहेर सघाएका छन् भने राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत १७ दलको समर्थन छ ।