समाचारआइतबार, आश्विन २४, २०७२
मलाई मतदान गर्नेहरुलाई पश्चाताप हुने छैन: ओली
व्यवस्थापिका संसदको जारी बैठकमा एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई प्रधानमन्त्री पदको उम्मेदवारी फिर्ता लिई आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।
उनले १६ बुँदे सहमति लगायत विभिन्न बेलामा भएका सहमति र सहकार्य स्मरण गराउँदै कोइरालालाई उम्मेदवारी फिर्ता गर्न आग्रह गरे ।
ओलीले भने, “लोकतन्त्रमा कबुलहरुको धेरै महत्व हुन्छ । नेपाली कांग्रेससँग सँधै सरकारमा रह्यौं, हाम्रो प्रमुख समर्थनमा कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार बन्यो, सँगै संविधान बनायौं । कांग्रेसले सरकार बनाउँदा म समर्थक बसेको थिएँ, आज मेरो उम्मेद्वारीमा नेपाली कांग्रेस प्रस्तावक र समर्थक नहुँदा कसो कसो लाग्या छ ।”
ओलीले अगाडि भने, “एकसय भन्दा बढी नयाँ कानून निर्माण गर्नु पर्नेछ, ३०० बढी कानून संशोधन गर्नुपर्ने छ । देशका विभिन्न भागमा विभिन्न समुदायका असन्तुष्टि छन् तीनलाई सम्बोधन गर्नुपर्ने छ । केही महिनाअघि भएको भूकम्पले पुर्याएको क्षतिको पुनःनिर्माण गर्नु छ । छिमेकीसँगको सम्बन्ध केही असहज हुँदा आपूर्ति व्यवस्थामा असर पुगेको छ । सहमति कायम गरेर एकताका साथ अघि बढ्नुपर्ने छ ।प्रधानमन्त्री सुशील कोइरालाजीलाई हाम्रो दलले समर्थन गरेर उहाँ आफूले राजीनामा नगर्दासम्म हामीले कुनै पनि अवस्थामा समर्थन सुदृढ नै राख्यौ–निकै असहज परिस्थितिमा पनि । हाम्राबीचमा केही सहमति पनि भएका थिए । मेरो आग्रह कोइरालाजीलाई उम्मेदवारी फिर्ता लिनुस, मैले समर्थन र सम्मानमा कुनै कमी गर्ने छैन ।”
ओलीले आफूले सबै असन्तुष्टहरुका सबै जायज मागहरु सम्बोधन गर्ने भन्दै थपे, “मलाई मतदान गर्नेहरुलाई पश्चाताप हुनेछैन, मलाई मत नदिनेहरुलाई किन भोट हालिएन भनेर पछि बाडुली लाग्ने छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
