टिप्पणीआइतबार, आश्विन २४, २०७२
नेतृत्वको कारण पार्टीलाई ठूलो धक्का
सिद्धान्तत: पार्टीको हरेक सदस्यको समान हक हुन्छ तर यथार्थमा पार्टीको मूख्य नेतृत्वको स्थान मात्र होइन भूमिका पनि अन्य सदस्यको भन्दा माथि हुन्छ। यो स्वभाविक पनि हो।
मूख्य नेतृत्वले पार्टीलाई गति दिने मात्र होइन। उसको निर्णय र क्षमतालाई हेरेर आम मानिसले पार्टी प्रतिको धारणा बनाउछन्।
हाम्रो सभापतिलाई हामीले सोध्यौं तपाइँले तीन दलका नेताको बिचमा कुनै सहमति गर्नु भएको हो सरकार गठनको बारेमा? वहाँले भन्नू भयो होइन। हामीले हाम्रै सभापतिले भनेको पत्यायौं, त्यो स्वभाविक पनि थियो।
तर म दोहोर्याएर प्रधानमन्त्री बन्दिन भनेको त हाम्रै कानले सुनेको हो। त्यो पनि एकपटक होइन दर्जनौंपटक।
केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरुले सरकार गठनको बारेमा फरक फरक धारणा राखे तापनि एउटा कुरा सबैले भनेको हो। प्रधानमन्त्रीले दोहोर्या उने चेष्टा गर्नु हुँदैन।
तर फेरि सभापती नै उमेदवार हुनु भएको छ। अब हामीले यसलाई के भन्ने? कसले भनेर मानेको ठान्ने ? जनताका प्रश्नको के उत्तर दिने हामीले? आज मूख्य नेता र नेतृत्वको कारण पार्टीलाई ठूलो धक्का लागेको छ।
पार्टी आफ्नै तागतमा निर्णय गरिरहेको छैन भन्ने आरोप लागेको छ। तर केही व्यक्तिका कारणले सिङ्गो पार्टीले यो आरोप खप्ने कुरा हाम्रोलागि सह्य छैन। नेपाली कांग्रेस नेपाली माटोमा फुलेको, फलेको र फक्रेको राजनैतिक दल हो।
आज हाम्रो कार्यशैली र निर्णयले गर्दा मधेसमा हामीले मधेस विरोधि, पहाड तिर पहाड बिरोधि अनि आम तन्नेरीहरुका बिचमा आफ्नो निर्णय आफैं गर्न नसक्ने आरोप लागेको छ। हामीले यो सबै आरोपहरुबाट पार्टीलाई मुक्त गराउनुछ।
अब यो हाम्रो संकल्प हो यसकोलागि हाम्रो भूमिकाबाट पार्टीलाई सहि ठाउँमा उभ्याएर सहि निर्णय गर्न सक्ने आफ्नो तागतमा आफ्नो सुझबुझमा निर्णय गर्न सक्ने ठाउँमा ल्याएर छाड्ने छौं।
यो नै हाम्रो पुस्ताको यसका संस्थापक नेताहरू प्रतिको सम्मान हो, गौरवशालि विगत प्रतिको सम्मान हो।
नेपाली कांग्रेसका आम कार्यकर्ता र शुभेच्छुक प्रतिको हाम्रो दायित्व हो। अब हामी कांग्रेसको पुनर्निर्माणमा जुट्नेछौं।