समाचारआइतबार, आश्विन २४, २०७२
झापा विद्रोहदेखि प्रधानमन्त्रीसम्म
एमाओवादीको प्रस्ताव र राप्रपा नेपाललगायत १७ दलको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित भएका छन् ।
उनले ८९ मतले पराजित गरेका हुन् । उनले प्रधानमन्त्रीका प्रत्यासी नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई ८९ मतले पराजित गरेका छन् । ओलीले ३३८ मत पाएका छन् भने कोइरालाले २४९ मत पाएका छन् । मतदान प्रक्रियामा ५८७ जना सहभागी थिए ।
जेलजीवन
संविधान जारी भएको तीन हप्तापछि प्रधानमन्त्री निर्वाचित केपी शर्मा ओलीलाई चिनाउने महत्वपूर्ण राजनीतिक घटना २०२७ को झापा विद्रोह नै हो ।
यो विद्रोहसँग असहमत रहेका ओलीलाई अहिले पनि राष्ट्रिय राजनीतिले झापा विद्रोहसँग जोडेर नै चिन्छन्, संविधान जारी भएपछि प्रधानमन्त्री बन्दा समेत ।
२०२३ बाट माक्र्सवादी अध्ययन दलमा आवद्ध हुँदै कम्युनिष्ट राजनीतिमा होमिएका उनको लामो समय जेलमा बित्यो । २०२५ मा तत्कालीन विद्यार्थी फाँट फ«याक्सन कमिटीमा रहेर शुरु उनको सांगठानिक राजनीति ५ वर्ष पनि राम्ररी चल्न सकेन ।
झापा विद्रोहपछि जेल बस्न थालेका उनले २०३० बाट लगातार १४ वर्ष जेलमा बिताए । लामो जेलजीवनमा उनलाई धेरै ठाउँ सारियो, धेरै पटक गिरफ्तार र रिहा भइरह्यो ।
मुक्त भएपछि
जेलमुक्त भएपछि ओली २ पुस २०४४ मा धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा मालेको केन्द्रिय कमिटी बैठकबाट केन्द्रिय सदस्य मनोनित भए ।
यसपछि २०४६ मा लुम्बिनी अञ्चल प्रमुख, १ जेठ २०४७ मा प्रजातान्त्रिक राष्ट्रिय युवा संघका संस्थापक अध्यक्ष र २०४९ देखि लगातार उनी नेकपा एमालेको स्थायी कमिटी सदस्य रहे ।
मूख्य भूमिकामा
झापा विद्रोह होस् वा पार्टीको आन्तरिक र राष्ट्रिय राजनीतिमा ओली सँधै सहयोगी भूमिकामा रहे । पञ्चायतकाल, २०४६ को जनआन्दोलनपछिको राजनीति, माओवादीको हिंसात्मक विद्रोह र त्यसपछिको संक्रमणकालीन राजनीतिमा समेत सहयोगी भूमिकामा रहेरै चर्चामा आउने ओली २१ माघ २०७० बाट पार्टीभित्रैबाट मूख्य भूमिकामा देखा परे ।
तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनाललाई संसदीय दलको नेतामा पराजित गरेका ओलीले १ साउन २०७१ मा बरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै पार्टीको नेतृत्वमा पुगे ।
पार्टी अध्यक्ष हुँदा संविधानका अन्तर्वस्तुमा लिएको अडानले ३ असोजमा संविधान आउन सफल भएको जस पाएका ओली २४ असोज २०७१ मा देशको ३८ औं प्रधानमन्त्री निर्वाचित भए ।
राजकीय भूमिका
२०४८ र २०५१ मा झापा–६, २०५६ मा झापा–२ र ६ तथा २०७० मा झापा–७, बाट निर्वाचित ओली २०६४ को निर्वाचनमा भने झापा–७, बाट पराजित भएका थिए ।
२०५१ मा गठीत मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा ओली गृहमन्त्री बनेका थिए । यसबीचमा मन्त्रिपरिषद्बाट गठीत विभिन्न आयोगहरुमा काम गरेका ओली २०६३ पछि उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
