समाचारआइतबार, आश्विन २४, २०७२
नेपाल प्रहरीका असईमाथि एसएसबीको आक्रमण, हतियार खोसेर कुटियो
वीराटनगर–जोगवनी सीमाक्षेत्रमा रहेर प्रहरीमाथि प्रहार गरिरहेका आन्दोलनकारीलाई लखेट्दै गरेका नेपाल प्रहरीका असई प्रदीप गिरीमाथि भारतीय सुरक्षा निकाय एसएसबीले आक्रमण गरी घाइते बनाएको छ ।
मोरङका प्रहरी उपरीक्षक प्रमोद खरेलका अनुसार सीमाक्षेत्रमा बसेर नेपाल प्रहरीमाथि ढुंगा र गुलेली प्रहार गरिरहेका आन्दोलनकारी लखेट्दै गरेका असई गिरीलाई एसएसबीले सीमा क्षेत्रबाट तानेर भारतीय भूमिमा लगी कुटपिट गरेको हो ।
असई गिरीका साथमा रहेको पेस्तोल समेत एसएसबीले खोसेको छ भने एसएसबीको आक्रमणबाट गिरीको टाउको फुटेको छ ।
आन्दोलनकारीले सीमामा बसेर हानेको गुलेलीले सीमा प्रहरी चौकीका झ्यालका सिसा समेत फुटेका छन् ।
त्यस्तै आन्दोलनकारीको गुलेली प्रहारबाट सशस्त्र प्रहरी जवान देवन्द्र यादवको आँखाको छेउमा गम्भीर चोट लागेको छ भने वोत्तल प्रहारबाट जवान रोशन राजवंशीको खुट्टा काटिएको छ । आन्दोलनकारीको आक्रमणबाट अर्का सशस्त्र जवान खेम भूजेलको हातमा चोट लागेको सशस्त्र प्रहरी उपरीक्षक आनन्द नेम्वाङ्ले जानकारी दिए ।
एसएसबीले नेपाल प्रहरीमाथि आक्रमण गरेको घटनापछि अहिले मोरङ जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ ।
कमल रिमाल, बिराटनगर