थप समाचारमंगलबार, आश्विन २६, २०७२
पेट्रोलियममा भारतको कडाई उस्तै
भारतले गरेको नाकाबन्दीको केही खुकुलो पारेको भए पनि पेट्रोल लगायतका अत्यावश्यक सामाग्री भने सहजै नेपाल भित्रन दिएको छैन ।
२६ असोज मध्यान्ह सम्ममा काकडभिट्टा–पानीटंकी नाकाबाट नेपाल छिरेका ६० वटा मालबाहक गाडीमध्ये एउटा पनि इन्धनका ट्यांकर छैनन् ।
नेपालमा नयाँ प्रधानमन्त्री चयन भएसँगै सीमा नाका खुकुलो पारेको संकेत दिएको भारतले यसअघि झैं तरकारी, क्लिंकर, कपडा र खाद्यान्न लादिएका ट्रक मात्रै नेपाल पठाएको छ ।
यसअघि २५ भदौ राति भने यो नाकाबाट २३ ट्यांकर डिजेल, एक ट्यांकर मट्टितेल र एक ट्यांकर हवाई इन्धन भित्रिएको थियो । तर, हिंजो पनि पेट्रोलको एउटै गाडी भारतले नेपाल आउन दिएन ।
६ असोज अपराह्नदेखि पारिपट्टी पानीटंकीमा खटिएको भारतीय सिमा सुरक्षा बलले नेपाल आउन केही थोरै गाडी मात्रै छोड्ने गरेकोमा अहिले अली खुकुलो पारे पनि पेट्रोलियम पदार्थ बोकेका गाडी अझै रोकिराखेको छ । जबकी हिजै पेट्रोलका लागि नेपालबाट भारतले थप गाडीहरु मगाएको समाचारहरु आएका थिए ।
दैनिक ५० हजार लिटर पेट्रोल र डेढलाख लिटर डिजेलको खपत हुने मेचीमा आवश्यकताको करिब २० प्रतिशत मात्र पेट्रोलियम पदार्थको आपूर्ति भइरहेको इन्धन बिक्रेताहरु बताँउछन् ।
सामान्य अवस्थामा दैनिक डेढसयदेखि दुईसय मालबाहक गाडी भित्रिने यो नाकाबाट दैनिक डेढ करोड हाराहारी राजश्व उठने गरेको भएपनि नाकाबन्दी यता राजश्व उठतीमा भारी गिरावट आएको छ ।
गोपाल गडतौला,झापा