समाचारमंगलबार, आश्विन २६, २०७२
रक्सौलका व्यवसायी भन्छन, ‘झिंगा धपाउँदै बसेका छौं’

वीरगञ्ज र रक्सौल जोडने सीमा क्षेत्रको मितेरी पुलमा पाल टांगेर धर्नामा बसेका मोर्चाका नेता-कार्यकर्ता । तस्वीर: सुरेश विडारी
भारतले नाकाबन्दी खुकुलो पारेसँगै सीमाका अन्य भारतीय बजारमा भीडभाड बढे पनि वीरगञ्जको सीमावर्ती भारतीय बजार हिजोआज सुनसान छ ।
दैनिक उपभोग्य वस्तु, लत्ता कपडा र अन्य सामान किन्ने नेपालीहरुले चलेको रक्सौल बजार सीमावारी नेपालमा मधेशी मोर्चाले गरेको लामो आमहडतालका कारण अचेल सुनसान देखिएको हो ।
सीमा क्षेत्रमै आन्दोलनकारी धर्ना गरिरहेको यो क्षेत्रबाट भारतीय सामान आयात पनि हुन सकेको छैन ।
रक्सौलमा वीरगञ्जबाट मात्रै नभएर पर्सा, बारा, मकवानपुर जिल्लाका सर्वसाधरणहरु किनमेलका लागि पुग्ने गर्छन् । भने भारतका विभिन्न स्थानमा जाने नेपालीहरुको चहलपहल पनि यही बजारमा हुने गर्छ ।
रक्सौलको अहिरवाटोलका व्यापारी विश्वनाथ प्रसादले नेपालमा जारी आन्दोलनले रक्सौलमा व्यापार चौपट भएको बताए । उनले भने “सामान्य अवस्था भएको भए दशैंका बेला थामिनसक्नुको घुइँचो हुन्थ्यो, उता हड्ताल हुँदा यता पनि सुनसान छ ।”
रक्सौलकै खाद्यान्न व्यापारी राजेश केशरीवाल नेपालको आन्दोलनले आफलाई धेरै मर्का परेको बताउँछन् । झन दशैंसम्म लम्बिएको यो आन्दोलनले गर्दा आफूले व्यापारमा ठूलो नोक्सानी बेहोर्नुपरेको उनको भनाई छ ।
पहिले पहिले दशैंका बेला पैसा गन्न फूर्सद नहुने गरेको बताउने उनी अहिले झिङा धपाएर बस्नु परेको बताउँछन् ।
तराईमा करिब दुई महिनादेखि जारी आन्दोलनले रक्सौलमा मात्रै दुई करोड भन्दा बढीको नोक्सानी भएको रक्सौलका व्यापारीहरुले अनुमान गरेका छन् ।
सीमावर्ती क्षेत्रका नेपाली बजारहरुमा भन्दा सस्तोमा पाईने दैनिक उपभोग्य खाद्य सामाग्री, लत्ता कपडा नेपाली उपभोत्ताहरुले भारतीय बजार रक्सौलबाटै ल्याउने गरेका थिए ।
सुरेश बिडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
