समाचारबिहीबार, आश्विन २८, २०७२
घर जाउँ गाडी छैन, बसौँ चुल्हो बल्दैन

इन्टरनेट तस्वीर
दशैं शुरु भएको छ तर, काठमाडौँमा पेट्रोल र ग्यासको अभावका कारण उपभोक्ता चर्को सङ्कट ब्यहोर्न बाध्य छन् ।
चाडवाडमा घर जान चाहनेहरु पेट्रोलियम पदार्थको अभावमा घर जान पाएका छैनन् भने ग्यासको अभावमा काठमाडौँमा बस्न सक्ने अवस्था छैन ।
ग्यासको खोजीमा भौतारिरहेका उपभोक्ताले डिपो र पसलमा नाम लेखाएको पनि धेरै दिन भयो, तर अन्य पेट्रोलियम पदार्थ सिमित मात्रामा आएपनि ग्यास भने कत्ति पनि आएको छैन । भारतले नाकाबन्दी गरेपछि सबैभन्दा बढी मार शहरिया तथा मध्यमवर्गीय उपभोक्तालाई परेको छ ।
ग्यासको खोजी गर्दै नेपाल ग्यासको डिपो बालाजु औद्योगिक क्षेत्रमा रित्ता सिलिण्डर लिएर उपभोक्ता लाइन लागेका छन् । ‘ग्यास पाइन्छ भनेर आएको, तर पाइएला जस्तो छैन’ काठमाडौँ महानगरपालिका– ६ बाइपास निवासी प्रमोद राईले भने ।
“पेट्रोल, डिजल र मट्टीतेल नपाइएपनि खाना पकाउने ग्यास पाइदासम्म घरायसी समस्या आएको थिएन, तर चाडवाडको समयमा समस्या थपियो”–ग्यासको लाइनमा बसेकी रमिला प्रधानले भनिन् ।
‘‘घर जाउँ बस छैन, यहीँ बसौँ ग्यास छैन, अब कसरी बाँच्ने होला ?”–ग्यासको सिलिण्डरमा टाउको अड्याएर बसेकी धादिङकी प्रेमा लामाले भनिन्, “ग्यास नपाउँदा भोकै बस्नु पर्ने अवस्था आयो ।”
नेपाल एलपी ग्यास उद्योग सङ्घले निगमसँग वैकल्पिक माध्यमबाट ग्यास ल्याउने अनुमति दिन आग्रह गरेको थियो । सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले तिब्बतको खासादेखि २३ किलोमिटर टाढा रहेको न्यालमबाट ग्यास ल्याउने तयारी गरे पनि सरकारले स्वीकृति दिएको छैन ।
व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले ग्यास आयात गर्न चाहने कम्पनीलाई तत्काल स्वीकृति दिन सरकारलाई निर्देशसमेत गरिसकेको छ । तर हालसम्म कुनै निर्णय भने हुन सकेको छैन ।
ग्यास बिक्रेता महासङ्घका महासचिव चन्द्र थापाले उपत्यकाको कुल खपत मध्ये ९० प्रतिशतभन्दा बढी ग्यास वीरगन्ज नाकाबाट आउने भएकाले सो नाका अवरुद्ध भएकाले समस्या बढी परेको बताए ।
काठमाडौँ उपत्यकामा दैनिक ३० हजार सिलिण्डर आवश्यक पर्दछ ।
अहिले भारतबाट आइरहेको केही थोरै ग्यास पनि उपत्यका बाहिर नै वितरण गरिएको छ ।
“जनताको चुल्हो निभेको छ । बिक्रेताका पसल बन्द छन् । उपभोक्ता मारमा छन्, तर आयात नै नभएपछि कसरी वितरण गर्ने, हामी पनि उस्तै समस्यामा छौँ”–थापाले भने ।
निगमले भने व्यवसायीलाई तीन/चार दिनमा समस्या समाधान हुने आश्वासन दिँदै आएको छ । तर आश्वासन दिएको पनि लामो समय भइसक्यो, तर समस्या घट्नेभन्दा पनि बढ्दै गएको छ ।
रमेश लम्साल/हरि लामिछाने, रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
