रमझमबिहीबार, आश्विन २८, २०७२
सितार पुत्र सतेन्द्र
नयाँ पुस्ताले शास्त्रीय संगीतका राग बिर्संदै गएको प्रति सतेन्द्रवीर सिंह (४४) चिन्तित छन्।
सतेन्द्रवीर १३ वर्ष मात्र लागेका थिए, जतिवेला बुबा तारावीर सिंह तुलाधर नभएका वेला दोब्बर उमेरका विद्यार्थीलाई सितारको अभ्यास गराउँथे। तर, स्वयंले भने सितारवादनको औपचारिक शिक्षा लिएका थिएनन्।
उनको घर नै विद्यालय थियो, अनि बुबा नै गुरु। सांगीतिक समूह ‘सुर सुधा’ का सदस्य सितारवादक तारावीरका छोरा उनी ‘सुर सुधा’ को अभ्यास कक्षामा बस्थे। र, बुबा र साथीहरुले बजाएको नक्कल गर्थे।
किशोरावस्थामै सितारवादकका रूपमा चर्चा कमाउन थाल्दा समेत सतेन्द्रलाई आफूप्रति नै विश्वास थिएन। त्यसैले, २४ वर्षको उमेरमा उनी सितारवादनमा स्नातकोत्तर गर्न भारतको इलाहावादस्थित ‘प्रयाग संगीत समिति’ मा भर्ना भए। “पढाइ सकेपछि मात्रै संगीतलाई गम्भीरतापूर्वक लिन थालें”, उनी भन्छन्।
त्यसपछिका केही वर्ष त सतेन्द्रले दैनिक १२ घण्टा अभ्यास गरे। अहिले त्यो सात घण्टामा झ्ारेको छ। उनको अभ्यासको तरीका पनि फरक छ। “म ऐना अगाडि बसेर सितार अभ्यास गर्छु”, उनी भन्छन्, “यसो गर्दा गल्ती औंल्याउन सजिलो हुन्छ। एकाग्र पनि होइन्छ।”
साधनाका तुलनामा सम्मान र पारिश्रमिक न्यून हुनुको गुनासो त छँदैछ, शास्त्रीय संगीतप्रति नेपालीको घट्दो रुचिले उनलाई पीडा दिएको छ। “विद्यालयस्तरमै शास्त्रीय संगीतबारे ज्ञान दिन सके नेपालमै पनि यसलाई बुझ्ने बढ्ने थिए”, उनी भन्छन्।
स्वदेशमा उचित सम्मान नपाए पनि विदेशमा पनि पूर्वीय संगीतको महत्व विशेष छ। हरेक वर्ष उनी विभिन्न कार्यक्रम लिएर यूरोप पुग्छन्। अहिले आउँदो वर्षको यूरोप प्रस्तुतिको तयारी गरिरहेका सतेन्द्र नेपाली, अरबी र स्पेनी धुनको संयोजनमा नयाँ अल्बम निकाल्ने प्रयत्नमा छन्।
सतेन्द्रले बुबासँग सितार सिकेजस्तै अहिले उनका १७ वर्षीय छोरा र १३ वर्षीया छोरी दुवै सितार र तबला बजाउँछन्। “छोराको एसएलसी सकिएपछि बुबा, म र छोरा मिलेर नेपालभर कार्यक्रम गर्ने इच्छा छ” उनी भन्छन्।
स्टेफान उएट