समाचारबिहीबार, आश्विन २८, २०७२
म्याच फिक्सिङ: प्रति खेल ५ हजार डलर लिन्थे

सागर थापा, विकास सिंह क्षेत्री सन्दिप राई, अन्जन केसी र रितेस थापा (बायाँबाट क्रमश:)
म्याच फिक्सिङको आरोपमा पक्राउ परेका फुटबल खेलाडीहरुले विभिन्न अन्तर्राष्ट्रिय खेलहरुमा प्रति खेल जनही ५ हजार अमेरिकी डलर लिई हार्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा अन्जन केसी, बिकाससिंह क्षेत्री, सागर थापा, रितेश थापा, सन्दिप राईलाई सोधपुछ गर्दा समेत विभिन्न देशहरुमा भएका अन्तराष्ट्रिय स्तरको फुटवल खेलमा म्याच फिक्सिङ् गरी नेपाली फुटवल टिमलाई हराई रकम लिने खाने गरेको खुल्न आएको उल्लेख गरिएको छ ।
राष्ट्रिय फुटवल टिमका खेलाडी रितेश थापा र पूर्व राष्ट्रिय खेलाडी अन्जन के.सी.ले नेपाली राष्ट्रिय फुटवल टिमको अन्तराष्ट्रिय खेलहरु भएको समयमा विभिन्न देशहरुबाट वेष्टर्न युनियन र साइबर मनीबाट नेपाली रकम प्राप्त गरेको देखिएको पनि प्रहरीले जनाएको छ ।
सन् २००८ अफगानिस्तानसँग २–२ गोलको बराबरी खेल खेल्ने शर्तमा प्रति खेलाडीहरुले अमेरकी डलर ५ हजार लिएको, सन् २००९ को साफ च्याम्पियनशिपमा जम्मा ३०६१ अमेरिकी डलर लिई दामासाहीमा वाँडेको, सन् २०११ मा मलेशियासँगको मैत्रीपूर्ण खेलमा २–० ले खेल हार्ने सर्तमा निजहरुले प्रति खेलाडी ५ हजार अमेरिकी डलर लिएको देखिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै सन् २०११ मा फिलिपिन्ससँग भएको मैत्रीपुर्ण खेलमा ४–० ले हार्ने शर्तमा प्रति खेलाडी ५ हजार अमेरिकी डलर लिएको, सन् २०१२ मा भारतमा भएको नेहरु कप अन्तर्गत क्यामरुनसँग ४–० ले हार्ने सर्तमा हामी प्रति खेलाडी ५ हजार अमेरिकी डलर लिने गरी शर्त भएकोमा खेलको अन्त तिर गोल किपर रितेश थापाको ठाउँमा खेलाडी परिवर्तन हुँदा ५–० गोलले हारेकोले रकम नपाएको पनि प्रहरीले जनाएको छ ।
सन् २०१४ मा कोरियामा भएको यू २३ एशिया च्याम्पियनशिप हार्ने शर्तमा उनीहरुले प्रति खेलाडीले ५ हजार अमेरिकी डलर लिएको पनि अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।
नेपाल प्रहरीको विज्ञप्ति:
“अन्तर्राष्ट्रिय फुटवल खेलमा म्याच फिक्सिङ गर्ने राष्ट्रिय खेलाडीहरु पक्राउ”:
छिमेकी राष्ट्र एवं मित्रराष्ट्रहरुमा विभिन्न समयमा आयोजना गरिएका अन्तर्राष्ट्रिय फुटवल खेलहरुमा नेपालले भाग लिई अन्तर्राष्ट्रिय फुटवल खेल खेल्नका लागि आवद्ध रहेको नेपाली राष्ट्रिय फुटवल टिमका खेलाडीहरु खेल्न गएकोमा सन् २००८ मा भएको मोर्डेका कप, सन् २००९ को साफ च्याम्पियनशिप, सन् २०११ मा मलेशियामा भएको मैत्रीपुर्ण खेल, सन् २०११ मा फिलिपिन्समा भएको मैत्रीपुर्ण खेल, सन् २०१२ मा भारतमा भएको नेहरु कप, सन् २०१४ मा कोरियामा भएको खेल समेतका अन्तर्राष्ट्रिय फुटवल प्रतियोगिताहरुमा नेपालको प्रतिनिधित्व गरी गएका नेपाली राष्ट्रिय फुटवल टिमका खेलाडीहरुले अवैध अन्तराष्ट्रिय एजेन्टहरुसँग सम्पर्क गरी विदेशी भूमिमा नेपालको राष्ट्रिय झण्डा लिई सपथ खाई राष्ट्रिय गानको धज्जी उडाई राष्ट्रिय एकता तथा नेपाली जनताहरुको स्वाभिमान र आत्मसम्मानमा चोट पुर्यािउने उद्देश्यले म्याच फिक्सिङ गरी अन्तराष्ट्रिय फुलवल खेल हार्ने योजना बनाई मोटो रकम लिई खेल खेली हार्ने गरेको बिभिन्न स्रोतबाट खुल्न आएको, तत्पश्चात महानगरीय प्रहरी महाशाखाबाट खटिएको प्रहरी टोलीले मिति २०७२।०६।२७ गते दिउँसो काठमाण्डौ तथा ललितपुरका बिभिन्न स्थानबाट नेपाली राष्ट्रिय फुटवल टिमका पुर्व खेलाडीहरु अन्जन के.सी., विकास सिंह क्षेत्री, तथा नेपाली राष्ट्रिय फुटवल टिमका खेलाडी रितेश थापा, क्याप्टेन सागर थापा र खेलाडी सन्दिप राईलाई पक्राउ गरि राज्य बिरुद्धको अपराध अन्तर्गत अनुसन्धान कारवाहीको लागी मिति २०७२।०६।२८ गते महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको ।
खुल्न आएका कुराहरूः
१. रितेश थापा, सन्दिप राई, सागर थापा, विकास सिंह क्षेत्री र अन्जन के.सी.लाई सोधपुछ गर्दा विभिन्न देशहरुमा भएका अन्तराष्ट्रिय स्तरको फुटवल खेलमा Match Fixing गरी नेपाली फुटवल टिमलाई हराई रकम लिने खाने गरेको खुल्न आएको ।
२. Western Union Money Transfer, Cyber Money समेतबाट नेपाली राष्ट्रिय फुटवल टिमका खेलाडी रितेश थापा र पुर्व राष्ट्रिय खेलाडी अन्जन के.सी.ले नेपाली राष्ट्रिय फुटवल टिमको अन्तराष्ट्रिय खेलहरु भएको समयमा विभिन्न देशहरुबाट रकम प्राप्त गरेको ।
३.सन् २००८ मा Mordeka Cup मा अफगानिस्तानसँग २–२ गोलको बराबरी खेल खेल्ने सर्तमा प्रति खेलाडीहरुले USD 5000 लिएको खुल्न आएको ।
४. सन् २००९ को SAAF Championship मा जम्मा ३०६१ अमेरिकी डलर लिई दामासाहीमा वाँडी लिएको ।
५. सन् २०११ मा मलेसियासँगको मैत्रीपुर्ण खेलमा २–० ले खेल हार्ने सर्तमा निजहरुले प्रति खेलाडी USD 5000लिएको ।
६. सन् २०११ मा फिलिपिन्ससँग भएको मैत्रीपुर्ण खेलमा ४–० ले हार्ने सर्तमा निजहरु प्रति खेलाडीले USD 5000 लिएको ।
७. सन् २०१२ मा भारतमा भएको नेहरु कप अन्तर्गत क्यामरुनसँग ४–० ले हार्ने सर्तमा हामी प्रति खेलाडी ५००० अमेरिकी डलर लिने गरी सर्त भएकोमा खेलको अन्त तिर गोल किपर रितेश थापाको ठाउँमा खेलाडी परिवर्तन हुँदा ५–० गोलले हारेकोले रकम नपाएको ।
८. सन् २०१४ मा कोरियामा भएको Under 23 Asia Championship Game मा खेल हार्ने सर्तमा निजहरु प्रति खेलाडीले ५००० अमेरिकी डलर लिएको ।
९. Match Fixing गरी खेल हारे वापतमा रकम दिने तथा विभिन्न माध्यमबाट नेपालमा रकम पठाउने व्यक्ति सिंगापुरको नागरिक Willson Raj, Woodland; Singapore का Titani Periasamy, Lot 68 Ladang Bahau of No 10 Taman Permata sf Kesavan Pattan समेतका Agent बाट अन्जन के.सी. रितेश थापा समेतले विभिन्न देशहरुबाट Money Transfor, Cyber Money Transfer मार्फत आएको रकम लिने गरेको खुल्न आएको ।
१०. Willson Raj नेपाल आउँदा सागर थापाले दरवारमार्गको एक रेष्टुरेण्टमा भेटी कुराकानी समेत गरेको निजबाट खुल्न आएको ।
११.अन्जन के.सी. पुर्व खेलाडी भए तापनि विना हैसियत विभिन्न अन्तराष्ट्रिय फुटवल खेलहरुमा जस्तै फिलिपिन्स र दिल्लीमा भएको प्रतियोगितामा स्वयम आफैं उपस्थित भई खेलाडीहरुलाई प्रभावित पार्ने गरेको खुल्न आएको ।
पक्राउ परेकाहरूः–
१.जि.ललितपुर ल.पु.उ.म.न.पा. १३ बस्ने दिल वहादुर के.सी.को छोरा वर्ष ३० को अन्जन के.सी. ।
२. जिल्ला मोरङ्ग बिराटनगर उ.म.न.पा.वडा नं. २२ बस्ने बिष्णुसिंह क्षेत्रीको छोरा वर्ष २७ को बिकाशसिंह क्षेत्री ।
३.जि.काठमाण्डौ किर्तिपुर न.पा.वडा नं. ५ बस्ने पुष्कर थापाको छोरा वर्ष ३१ को सागर थापा ।
४. जिल्ला सुनसरी ईटहरी उ.म.न.पा.वडा नं. १ बस्ने सागर थापाको छोरा वर्ष ३३ को रितेश थापा ।
५. जि.सुनसरी दुहवी न.पा.वडा नं. ६ बस्ने दिपक राईको छोरा वर्ष २८ को सन्दिप राई ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
