थप समाचारशुक्रबार, आश्विन २९, २०७२

हतियारसहित महिला पक्राउ

हिमालखबर

ताप्लेजुङको ईखाबुस्थित गोठबाट ठूलो परिमाणमा विस्फोटक पदार्थसहित एक महिला पक्राउ परेकी छिन् ।

ईखाबु गाविसकै देउमान लिम्बू(हाराहाङ) समूहकी सान्थाक्रा ताप्लेजुङकी २३ बर्षीया मनकुमारी चोङ्वाङ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

हाराहाङलाई पक्राउ गर्न विशेष खोजी अभियानमा रहेको प्रहरीले ईखाबु–४, मा पर्ने चौरीखर्कको एक गोठमा लुकेर बसेको अवस्थामा २९ असोजमा चोङ्वाङलाई पक्राउ गरेको हो । पक्राउ परेकी चोङ्बाङसँगै रहेका अन्य ६ जना भने भरुवा बन्दुक पड्काएर भागेको डिएसपी कोइरालाले बताए ।

गोठबाट प्रहरीले चारवटा भरुवा बन्दुक, एकथान पेस्तोल, एउटा कटुवा बन्दुक, तीन थान मोबाइल सेट, पाइप बम बनाउन प्रयोग गरिने फलामका पाइप र बम बनाउन प्रयोग गरिने विस्फोटक सामग्रीसहित केही मिटर बिजुलीको तारसमेत बरामद गरेको छ । यस्तै, प्रहरीले विभिन्न भूमिगत सङ्गठनको पर्चा पम्प्लेटसमेत फेला पारेको बताइएको छ ।

सदरमुकामदेखि करिब दुई दिनको पैदल यात्रामा पुग्न सकिने हिमाली क्षेत्रको उक्त गोठमा बसी तल रहेका गाउँमा आई स्थानीय जनतालाई धम्क्याउँदै अलैँची र रकम असुल्न हाराहाङसहित उनी नेतृत्वको समूह सक्रिय रहेको सूचनाका प्रहरीले उक्त क्षेत्र निगरानीमा राखेको थियो ।

भौगोलिक अवस्था विकट रहेकाले फरार रहेकाको खोजी कार्यमा समस्या भइरहेको प्रहरी प्रमुख कोइरालाले बताए ।

हाराहाङको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको २ नम्बर ढोका नजिक १६ कात्तिक २०७१ मा बम विष्फोट, ज्यान मार्ने उद्योग, डकैतीका गरी तीन वटा र अन्य जिल्लामा एक दर्जनभन्दा बढी मुद्दा रहेको प्रहरीको भनाइ छ ।

हाराहाङले विभिन्न भूमिगत पार्टीको नाममा ताप्लेजुङ, पाँचथर, इलाम, झापालगायत पूर्वी जिल्लामा पछिल्लो समय चन्दा आतङ्क मचाउँदै आएको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार उनीहरूले विभिन्न भूमिगत पार्टीको नाममा सर्वसाधारणलाई आतङ्कित पार्दै आपराधिक क्रियाकलाप गर्दै आएका थिए ।

पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङलगायत जिल्लामा किराँत लिम्बूवान राष्ट्रिय परिषद्, लिम्बूवान क्रान्तिकारी पार्टी, लिम्बूवान भूमि मुक्ति राष्ट्रिय पार्टी नेपाल लगायतको नाममा विध्वंस मच्चाइने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>