अर्थ/बजारशुक्रबार, आश्विन २९, २०७२
खाद्य संस्थानले खसी र च्याङ्ग्रा बिक्री गर्न थाल्यो
खाद्य संस्थानले दशैंका लागि खसी बोकाको बिक्री वितरण सुरु गरेको छ । नवरात्रिको तेश्रो दिन २९ असोजदेखि संस्थानले थापाथलीमा रहेको गोदाममार्फत खसी बोकाको बिक्री सुरु गरेको हो ।
हेटौँडा, चितवनलगायतका ठाउँबाट ल्याइएका खसी बोका र मुस्ताङबाट ल्याएका च्याङ्ग्रा बिक्रीमा राखिएको संस्थानका नायब महाप्रबन्धक पवनकुमार कार्कीले जानकारी दिए ।
उनले भने, “मुस्ताङबाट ल्याइएको ६९२ च्याङ्ग्रा र तराईका विभिन्न ठाउँबाट ल्याइएको ३८१ खसी बोका बिक्रीमा राखेका छौँ ।” च्याङ्ग्राको मासु प्रतिकिलो ६३० र खसी बोकाको ४२५ देखि ४ ३५ रुपैयाँ सम्ममा बिक्री भइरहेको छ ।
कार्कीले भारत सरकारले लगाएको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएकाले आवश्यक मात्रामा खसी बोका र च्याङ्ग्रा भित्र्याउन नसकेको बताए ।
संस्थानले यस वर्ष खाद्य बजार भने राखेको छैन तर उपत्यकामा रहेका नख्खु, जावलाखेल, थापाथलीलगायतका ठाउँमा रहेका भण्डारबाट चामल बिक्रि भइरहेको छ । चामलामा प्रतिकिलो पाँच रुपैयाँ सहुलियत दिने व्यवस्था मिलाएको छ ।
यस्तै, टुकुचा खसी बजारमा पनि गत वर्षको तुलनामा खसी बोका कम मात्रै ल्याइएका छन् । नाकाबन्दीका कारण भारतबाट आउनु पर्ने खसी बोका नआएको टुकुचा खसीबजार इकाइ समितिका अध्यक्ष उत्तम खड्गीले बताए ।
उनका अनुसार धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, ओखलढुङ्गा, गोरखा लगायतका जिल्लाबाट ल्याइएका खसी बोका बिक्रीमा राखिएकोे छ । खसी बोकाको मासु प्रतिकिलो ४ सय ४० देखि ४ सय ६० सम्म रहेको उनले बताए । रासस