Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जीससको घरमा बुद्ध - Himalkhabar.com

रमझमशनिबार, आश्विन ३०, २०७२

जीससको घरमा बुद्ध

हिमालखबर

तस्वीर: डम्बरकृष्ण श्रेष्ठ

तस्वीर: डम्बरकृष्ण श्रेष्ठ

सुन्दा मात्रै पनि आश्चर्य लाग्छ, न्यूयोर्कको ज्याक्सन हाइटस्थित ७० वर्ष पुरानो सेण्ट म्याथ्यु लुथरन चर्चमा अहिले गुम्बा छ। उदार धार्मिक अभ्यासको यस्तो उदाहरणले फरक समुदायबीच समन्वय बढाएको छ।

चार वर्षअघिसम्म जीसस क्राइस्टको भव्य प्रतिमासहितको चर्च भएको यही ठाउँमा यति वेला ध्वजा, पताका र तोरण फर्फराइरहेका छन्। शान्त बुद्धको मूर्ति ठीक मुन्तिर भिक्षु प्रार्थना गरिरहेका भेटिन्छन्।

नेपालबाट स्थायी बसोबासका लागि अमेरिका पुगेका शेर्पा समुदाय गुम्बाका हर्ताकर्ता हुन्। बहुसंख्यक ईसाइ बस्ने अमेरिकाको भव्य शहरमै चर्च गुम्बामा कसरी परिणत भयो, यसको आफ्नै कहानी छ।

सद्भाव नै धर्म न्यूयोर्कस्थित युनाइटेड शेर्पा एसोसिएसनले चार वर्षअघि गुम्बा स्थापनाका लागि भवन वा जग्गाको खोजी गर्न थाल्यो। इन्टरनेटमा ज्याक्सन हाइटमा एउटा चर्च बिक्रीको सूचना फेला पार्‍यो।

शुरुमा त यो समुदायका सदस्यहरुबीच चर्च भएका ठाउँमा गुम्बा कसरी बनाउने भन्नेमै छलफल चल्यो। तर, चर्च नै बिक्रीमा राखिसकेपछि आफूहरुले जुनसुकै प्रयोजनका लागि पनि प्रयोग गर्न सकिने विश्वास बढ्यो।

गुम्बामा बौद्ध धर्म सम्बन्धी प्रवचन सुन्दै गैरनेपाली समुदाय।

गुम्बामा बौद्ध धर्म सम्बन्धी प्रवचन सुन्दै गैरनेपाली समुदाय।

“१२ लाख ५० हजार डलर (रु.१२ करोड ५० लाख) को चर्च खरीदका लागि शेर्पा समुदायबाटै ९ लाख डलर उठ्यो, बाँकी भने ऋण लिनुपर्‍यो”, एसोसिएसनका अध्यक्ष दावा जाङ्बु शेर्पा भन्छन्, “हामीले हेर्दा चर्चको छानामा क्रस र भित्र क्राइस्टको भव्य प्रतिमा थियो।”

किन्ने–लिनेबीचको मञ्जुरी भयो तर चर्च बेचेको पैसा के गर्ने? भन्नेमा स्थानीय सरकारको भवन विभाग नै अन्योल देखियो। ‘अर्को ठाउँ चर्च किन्ने’ सहमति भएपछि भने चर्च एसोसिएसनको नाममा नामसारी भयो।

किनिसकेपछि शेर्पा समुदायले चर्चका कुनाकाप्चा नियाले। चर्चका बेञ्चदेखि भित्ता सबैतिर मूर्ति र क्रसका चिह्न थिए। “किनिसकेपछि पो महसूस गर्‍यौं यो त अर्कै धार्मिक समुदायको आस्थाको केन्द्र हो, तर हामीलाई त गुम्बा बनाउनु थियो”, शेर्पा भन्छन्।

चर्चको छानामा रहेको क्रस हटाउँदा कट्टरपन्थी खि्रष्टियन समुदायबाट विरोध पो होला कि, उजुरी नै पो गर्लान् कि भनी एसोसिएसनका सदस्यहरु दोधारमा परे। विस्तारै भित्रभित्र खाली गरिए पनि क्रस झिक्ने आँट भने गर्न सकेनन्।

संरचना मर्मतका लागि त्यहींको कम्पनीलाई जिम्मा दिनुपर्ने भयो। कम्पनीका सबै खि्रष्टियन समुदायकै थिए। दावाले उक्त कम्पनीलाई त्यहाँ गुम्बा बनाउन लागेको तर क्रस हटाउन समस्या परिरहेको बताए। तर, कम्पनीका आर्किटेक्टले ‘यो ठाउँ, भवन सबै किनेपछि क्रस झिक्न के को गाह्रो?’ भन्दै आफैं झिकिदिए। संयोग, बुद्ध मूर्तिसहितका गुम्बाका सामग्री प्रतिस्थापन गर्ने दिन पनि खि्रष्टमसकै दिन पर्‍यो।

गुम्बामा नियमित पूजासँगै हरेक आइतबार बौद्ध धर्म, संस्कृति अध्ययन र अध्यापन पनि गराइन्छ। बेसमेन्टमा २०० जना अटाउने शेर्पा किदुङ हल बनाइएको छ, जहाँ न्यूयोर्कका नेपाली समुदायले विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छन्।

न्यूयोर्कमा पाँच हजारभन्दा बढी शेर्पा छन्। समयसँगै नेपाली समुदायको संख्या बढ्दै जाँदा गुम्बा र हल साँघुरो लाग्न थालेको छ। दावाका अनुसार गुम्बाका खाली ठाउँमा हल विस्तार गर्ने योजना बनाइएको छ।

चर्चलाई गुम्बा बनाइएको यो घटनालाई पूरै अमेरिकाका नेपालीहरु धार्मिक सद्भावको उदाहरण मान्छन्। “धर्म र जातका नाममा कट्टरता काम लाग्दैन, सबैको अस्तित्व स्वीकार्नु नै धर्म हो”, दावाको तर्क छ।

डम्बरकृष्ण श्रेष्ठ/ङिमा पाखि्रन, न्यूयोर्कमा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>