Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
गुल्मी एक्सप्रेस - Himalkhabar.com

खेलकुदशनिबार, आश्विन ३०, २०७२

गुल्मी एक्सप्रेस

हिमालखबर

तस्वीर: बिक्रम राई

तस्वीर: बिक्रम राई

– सन्त गाहा मगर
अहिलेकै मिहिनेतलाई निरन्तरता दिने हो भने पेस बलर सोमपाल कामी (१९) ले नेपाली क्रिकेटमा अविस्मरणीय योगदान दिनेछन्।

टी–२० इन्टरनेसनल, विश्व वरियतामा उत्कृष्ट बलरको ८२औं स्थानमा छन्, नेपालका सोमपाल कामी। देशका लागि सात अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका पेस बलर (तीव्र गतिका बलर) सोमपालले टीम नेपालका लागि ६० विकेट खसालिसकेका छन्।

त्यसो त टी–२० इन्टरनेसनलमा १०औं नम्बरमा ब्याटिङ गर्न आएर सर्वाधिक रन जोड्ने विश्व कीर्तिमान पनि उनकै नाममा छ। ४ मंसीर २०७१ मा श्रीलंकामा भएको टी–२० इन्टरनेसनल सिरिजमा उनले हङकङविरुद्ध ३१ बलमा ४० रन जोड्दै श्रीलंकाली क्रिकेटर प्रदीप निशान्तको ३७ रनको कीर्तिमान तोेडेका हुन्।

पछिल्लो साता मात्र यिनै सोमपाल र अर्का मध्यम गतिका बलर अविनाश कर्णले टेस्ट क्रिकेट खेलिरहेको श्रीलंकाको प्रथम श्रेणीमा प्रतिभा देखाउने अवसर पाएका छन्। यी दुईले आगामी नोभेम्बर–फेब्रुअरी सिजनका लागि कालुतारा फिजिकल कल्चर सेन्टरबाट खेल्नेछन्।

कालुतारालाई गत फेब्रुअरीमा द्वितीय श्रेणीबाट उकास्ने क्रममा यिनै सोमपालले आठ इनिङ्समा ३७ विकेट झ्ाारेका थिए। सोमपाललाई विगतको प्रदर्शन हेरेर कालुताराले बोलाएको टीम नेपालका प्रशिक्षक पुबुदु दासानायके बताउँछन्।

संघर्ष र शान
उल्लेखनीय त के छ भने राष्ट्रिय टोलीमा सबैभन्दा तीव्र गतिका बलरको पहिचान बनाएका सोमपाल नेपाली क्रिकेटसँग जोडिएको दुई वर्ष मात्रै भयो।

त्यसअवधिमा उनले खेलेका विश्व कप छनोट, टी–२० इन्टरनेसनल, एसीसी प्रिमियर लीग, एशियन गेम, आईसीसी वर्ल्ड कप लीग डिभिजन–२, आईसीसी वर्ल्ड कप लीग डिभिजन–३ र आईसीसी वर्ल्ड टी–२० छनोटमा उनको प्रदर्शन अब्बल रह्यो।

तुरङ–८, गुल्मी घर भएका उनी तीन वर्षको हुँदा बाबुआमासँग भारतको पंजाब पुगेका थिए। क्रिकेट खेल्नैका लागि उनी १८ भदौ २०७० मा नेपाल आएका हुन्।

संयोग, सोमपाल नेपाल आइपुगेकै दिन साफ च्याम्पियनसिप फूटबल अन्तर्गत नेपाल र पाकिस्तानबीच समूह चरणको खेल भइरहेको थियो।

पाकिस्तानविरुद्ध अतिरिक्त समयमा गोल गरेका राष्ट्रिय टीमका युवा स्ट्राइकर विमल घर्ती मगरको ‘वाह वाही’ देखेपछि आफू निकै हौसिएको सोमपाल बताउँछन्। १७ वर्षमा क्रिकेट खेल्न स्वदेश फर्केका उनी भन्छन्, “मेरै उमेरका विमलले पाएको प्रशंसाले मलाई क्रिकेटमा केही गरेर देखाउँछु भन्ने प्रेरणा मिल्यो।”

सोमपाललाई नेपाली क्रिकेटसँग जोड्ने काम भने काठमाडौं क्षेत्र नम्बर ३ बाट क्रिकेट खेलिरहेका अर्जुन अधिकारीले गरेका हुन्। अधिकारीलाई सोमपालले फेसबूकमा भेटेका हुन्। ‘तिम्रो नागरिकता छ भने नेपालमा क्रिकेट खेल्न आऊ’ अधिकारीले सोमपालको फेसबूक इनबक्समा लेखेका थिए।

‘मेरो त छैन बुबाको नेपाली नागरिकता छ’, उनले अधिकारीलाई जवाफ दिए। अधिकारी आफैं पंजाबसम्म लिन आउने भएपछि सोमपाल नेपाल आउन तयार भए तर बुबा–आमाबाट अनुमति पाएनन्।

timelineभारु १० हजार जोहो गरेर उनी नेपाल आएको स्मरण गर्छन्। भन्छन्, “म क्रिकेट खेल्न इन्डियाबाट भागेर आएको थिएँ।” स्कूल पढ्दादेखि नै खेल्ने गरेका सोमपाल इन्डियन प्रिमियर कर्पोरेट लीगमा स्कूलका कप्तान थिए। उनी भन्छन्, “क्रिकेटको नशा चढेको त्यहींबाट हो।”

काठमाडौं क्षेत्र नम्बर ३ लाई यू–१९ नेसनल च्याम्पियन बनाउँदा सोमपालको बलिङ भन्दा ब्याटिङ जमेको थियो। क्षेत्रीयस्तरको खेलमा दोहोरो शतक प्रहार गरेपछि उनी एकाएक टीम नेपालका प्रशिक्षक पुबुदुको आँखामा परेका थिए।

तर, पुबुदुले दोहोरो शतक हानेका सोमपाललाई ब्याटिङ होइन बलिङ गर्न पो अह्राए। प्रतिघन्टा १४१ किमीका दरले सही स्थानमा बल फाल्न थालेपछि उनी राष्ट्रिय टीमका ओपनर बलर बने। सोमपालका भाइ पूरण (१७) काठमाडौं क्षेत्र नम्बर ३ बाट ब्याटिङ गर्छन्।

न्यूजिल्याण्डमा भएको विश्वकप छनोटमा संयुक्त अरब इमिरेट्ससँग सात ओभर बलिङ गर्दा पनि सोमपालबाट विकेट खसेन। तर, उनलाई प्रशिक्षक र कप्तानले निराश बन्न दिएनन्। तीन दिनपछि स्कटल्याण्डसँग खेल्दा उनले आठ ओभरमा ३५ रन खर्चेर तीन विकेट झारे। लगत्तै क्यानाडा विरुद्ध पनि तीन विकेट लिए।

टीम नेपालका कप्तान पारस खड्का सोमपालको मिहिनेत र केही सिकौं भन्ने भावनाबाट प्रभावित छन्। उनको बुझाइमा सोमपाल छोटो समयमा धेरै प्रगति गरेका खेलाडी हुन्। खड्का भन्छन्, “सोमपालले ब्याटिङ पनि सुधार्नुपर्छ। उनको प्रतिभाले आफैंलाई मात्र होइन नेपाली क्रिकेटलाई नै अगाडि लैजान मद्दत पुर्‍याउँछ।”

नेपालमा एक–डेढ महीना विना अभ्यास बस्नुपर्ने देखेपछि सोमपाल २५ भदौमा पंजाब लागेका छन्। “दुई–तीन दिन मात्रै प्राक्टिस नहुने हो भने लय बिग्रिन्छ”, उनी भन्छन्।

राष्ट्रिय टीमका सहायक प्रशिक्षक जगत टमाटा श्रीलंकाको खेलले सोमपालमा अभ्यास र आत्मविश्वास दुवै बढाउनेमा विश्वस्त छन्। “सोमपालले अब बलिङको विविधतामा ध्यान दिनुपर्दछ”, टमाटाको सुझाव छ।

जन्म: २ फेब्रुअरी १९९६

नेसनल टीममा डेब्यु: १ जनवरी २०१४

पहिलो अन्तर्राष्ट्रिय टी–२०: १६ मार्च २०१४

म्यान अफ दि म्याच: एसीसी प्रिमियर लीग, मलेशिया मे २०१४

बलिङ: दायाँहाते मध्यम गतिका तीव्र बलर

ब्याटिङ: दायाँहाते

विश्व कीर्तिमान: टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०औं ब्याटिङ क्रममा आएर सर्वाधिक रन (४०)।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>