रिपोर्टमंगलबार, कार्तिक ३, २०७२
सद्भाव हाम्रो संस्कृति
संसारमा कमै देखिने सामुदायिक सद्भाव नेपाली समाजमा संस्कृतिको रूपमा स्थापित छ । राजनीतिक स्वार्थले त्यसलाई खल्बल्याउने प्रयास गरे पनि नेपाली सद्भाव डगमगाएको छैन ।
करीब एक महीनादेखिको भारतीय नाकाबन्दीले राजधानीसहित देशभरको जनजीवन नराम्ररी प्रभावित छ । इन्धन अभावले सडकमा गाडी घटेका छन्, यात्रुको विचल्ली छ । ग्याँस नपाएर कतिका घरमा चूलो बल्न छाडेको छ ।
राजधानीका सडकमा पेट्रोल–डिजल भर्न दुई–तीन वटा लाइनमा बसेका निराश अनुहार नियालेका समाज अध्येताहरू यो संकटले सामाजिक सद्भाव बिथोलिने तहमा पुर्याउला कि भनेर चिन्तित थिए ।
प्रत्यक्षतः मधेशकेन्द्रित दल र अप्रत्यक्ष रूपमा भारतले गरेको नाकाबन्दीले निम्त्याएको यो संकटले समाज अध्येताहरूको आशंका झैं राजधानीमा बसोबास गर्ने मधेशी समुदायका व्यक्तिहरूमाथि कुनै पनि प्रकारको आक्रोश नपोखिनु सबैभन्दा सुखद् पक्ष रह्यो ।
ठीक त्यही अवस्था देखियो, करीब दुई महीनादेखि ठप्प तराई मधेशमा पनि । मधेशकेन्द्रित दलका केही नेताले ‘पहाडेहरूलाई लखेट्नुपर्छ’ भन्ने सम्मका अभिव्यक्तिमार्फत साम्प्रदायिक सद्भाव बिथोल्ने प्रयास गरे पनि मधेशी समुदायको संयम डग्मगाएन ।
अपवादका केही घटना भए पनि नेताहरूका साम्प्रदायिक घृणा फैलाउने आह्वानलाई मधेशी समाजले अस्वीकार गरिदियो । तराई–मधेशका पहाडिया समुदायले मधेशका जायज मागमा काठमाडौंलाई दबाब दिन विभिन्न ठाउँमा स्वस्फूर्त ¥याली निकाले । “यही हो नेपाली समाजको विशेषता र शक्ति” मानवशास्त्री सुरेश ढकाल भन्छन्, “जसले देश जोगाएको छ ।”
पछिल्ला महीनाहरूका घटनाक्रम, तिनलाई लक्षित गरेर भएका सद्भाव बिथोल्ने प्रयास र समाजले त्यसलाई परास्त गर्दै सद्भावको अँगालो झन् कसिलो पारेको प्रसंगहरू महत्वपूर्ण छन् ।
८ प्रहरी र एक नाबालकको ज्यान लिने गरी ७ भदौमा भएको टीकापुर घटनाको आडमा कतिपय व्यक्ति र समूह जातीय–क्षेत्रीय सद्भाव बिथोल्न सक्रिय भए, तर समाजले संयम गुमाएन । ‘थरूहट/थारूवान प्रदेश’ माग गर्दै भएको प्रदर्शनका क्रममा भएको त्यो हत्याकाण्डपछि सिंगो थारू समुदायलाई ‘हिंस्रक’ देखाउने र ‘सयौं थारूलाई मारिएको’ डरलाग्दो अफवाह फैलाउने प्रयासहरू नभएका हैनन् ।
तर, एउटा घटनाविशेषलाई लिएर ल्याउन खोजिएको विभाजन प्रयासले सदियौंदेखि सहिष्णु रहिआएको समाजलाई विचलित पार्न सकेन ।
टीकापुर हत्याकाण्डपछि दुई थरी अफवाह फैलाउन थालिएसँगै सामाजिक सञ्जाल र भएजति सञ्चारमाध्यमबाट सामाजिक सद्भाव जोगाउन अपील गर्ने अनगिन्ती सद्भाव दूतहरू क्रियाशील भए ।
त्यसरी टीकापुरबाट सल्काउन खोजिएको ‘थारू भर्सेस पहाडे’ र ‘जनजाति भर्सेस गैर–जनजाति’ तथा पछिल्लो समय ‘मधेशी भर्सेस पहाडे’ को आगो बल्नै नपाई निभ्यो ।
२०६३ सालमा नेपालगञ्जबाट भड्काउन खोजिएको ‘पहाडे–मधेशी’ संवेदना होस् या २०६४ को गौर नरसंहारपछिको अवस्था, कपिलवस्तुबाट फैलाउन खोजिएको साम्प्रदायिक हिंसा होस् या त्यसयताका षडयन्त्रहरू, नेपाली समाजले सबै दुष्प्रयासलाई निस्तेज र तिरस्कृत गरेको छ ।
सद्भावका बदलिंदा आधार
आपसी सम्बन्ध र अन्तरनिर्भरता नै नेपाली समाजमा सामाजिक सद्भावको प्रमुख आधार थियो । कृषिमा आधारित पर्म, पैंचो जस्ता आर्थिक उपार्जनका लागि अपरिहार्य क्रियाकलापले एकापसको अन्तरनिर्भरतालाई निरन्तरता दिएका थिए । फरक–फरक परिवार र समुदायका सदस्यहरूबीचको आदान–प्रदान त्यसैले सुचारु गराएको थियो । अरूको कुभलो नचिताउने पुण्य दर्शनले त्यसलाई बल दिएको थियो ।
समाज विकासको क्रममा यस्ता मान्यताहरूमा स्वाभाविक बदलाव आयो । कृषिले धानेको अर्थतन्त्रको ठूलो हिस्सा क्रमशः अन्यक्षेत्रले लिन थाले । शिक्षा, विकास, आधुनिकीकरण आदिले समाजको स्वरुप फेर्न थाल्दा आत्मनिर्भर बन्ने चाहनाले अन्तरनिर्भरता घटाउन थाल्यो ।
समाजमा यी सब भइरहँदा सबै क्षेत्रमा राजनीति यस्तोसँग हावी हुनपुग्यो कि; पाप, धर्म, परोपकार, पुण्य कमाउने जस्ता मान्यताहरू बिथोलिन थाले । हरेक कुरा राजनीतिबाटै निर्धारण गर्न खोजिएपछि सद्भावका आधारहरू कमजोर बने ।
प्रतिद्वन्द्वी भावनाले गरिने राजनीतिले सद्भावलाई कमजोर बनाउनु स्वाभाविक थियो । राजनीतिमा दल र व्यक्तिविशेषका स्वार्थहरू निर्णायक बन्न थालेपछि सद्भावका परम्परागत आधारहरू कमजोर हुँदै गए ।
पछिल्लो समयका जातीय–क्षेत्रीय आन्दोलनहरूले घृणा र उपहासका आयामहरू त बनाए, तर खराबी विरुद्ध प्रतिरोधी चेत निर्माण गर्न सकेनन् । मानवशास्त्री ढकाल सबैतिर राजनीति हावी भएपछि सद्भावका पाटा खल्बलिएको बताउँछन् ।
त्यसकै परिणाम हो, अहिले समाजका अगुवाहरूले राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि निरन्तर अपील गर्नुपर्ने अवस्था आउनु । जनकपुुरबाट यसका लागि निरन्तर पहल गर्दै आएका प्रा. राजेन्द्र विमल ६ दशकभन्दा लामो समयदेखि समाजमा कुनै किसिमको दुर्भाव आफूले नदेखेको, तर पछिल्लो समय त्यसमा आँच आएको बताउँछन् ।
“सद्भावमा कहीं न कहीं ग्रहण लागेको छ” प्रा. विमल भन्छन्, “यसको प्रमुख कारण राजनीति नै हो । सकारात्मक परिणाम दिने अपेक्षा गरिएको राजनीतिले कसरी समाजमा नकारात्मक भावनाको बीजारोपण ग¥यो भन्ने चिन्ताको विषय भएको छ ।”
उनी अहिलेको राजनीतिक अवस्थाबाट देशले निकास पाए पनि समाजमा जबर्जस्ती बढाइएको साम्प्रदायिक तनावको विषको असर रहने खतरा देख्छन् । यो विषलाई राजनीतिले नै मार्नुपर्ने उनको भनाइ छ ।
सद्भावका आधारहरूलाई सुदृढ पार्दै समाजलाई एकताबद्ध पार्ने काम पनि राजनीतिकै भएको उनी बताउँछन् । “अनेक जाति, भाषा, भूगोल र धर्म–संस्कृति नेपाली पहिचान हुन्”, प्रा. विमल भन्छन्, “यस्ता विविधतालाई पृथकतातिर नभई एकतातिर डो¥याउने काम राजनीतिक नेतृत्वको हो ।”
सहभाव, समभाव र सद्भाव
तराई–मधेशमा जारी पछिल्लो आन्दोलनका क्रममा देखिएका कतिपय घटनाहरूले सामाजिक सद्भावमा चुनौती थपेको धेरैको विश्लेषण छ । पहिचानको लागि भन्दै भइरहेको आन्दोलनमा समुदाय विशेषलाई लाञ्छित र उत्तेजित गर्ने खालका नारा लाग्नुलाई खतराको संकेत मानिएको छ ।
मानवशास्त्री ढकाल इतिहासमा भएका गल्तीहरूलाई अगाडि सारेर घृणा र बदलाको भावना बढाउने प्रयास हुनुलाई खतराको संकेत मान्छन् । उनी भन्छन्, “जाति, समुदाय र सांस्कृतिक वा भौगोलिक समूहबीच घृणा फैलाउने दुष्प्रयास हुनु सामाजिक सद्भावको लागि सबभन्दा ठूलो चुनौती हो ।”
यो चुनौतीसँग जोडिएर आएको छ– मधेशी समुदायले गरिरहेको समभावको खोजी । मधेशकेन्द्रित दल र तिनका नेता मात्र हैन, आम मधेशीको एउटा हिस्साबाट समेत त्यो भाव प्रस्फुटित हुनथालेको छ ।
मधेशी समुदायमाथि समान व्यवहार भएन भन्ने त्यसको अन्तर्य हो । मधेशका सर्वसाधारणदेखि अगुवा र अधिकारकर्मीहरू समभाव भए मात्र सद्भाव बलियो हुने भन्न थालेका छन् ।
अधिवक्ता दीपेन्द्र झा हिजोका दिनमा अधिकारप्रति सचेत नरहेको मधेशी समुदाय २०४६ सालयताका राजनीतिक परिवर्तन, शिक्षा र लोकतान्त्रिक चेतले अधिकार दाबी गर्ने स्थितिमा पुगेकाले यो अवस्था आएको बताउँछन् ।
“हिजोको सौहार्दपूर्ण सम्बन्ध सद्भावका कारण नभई दमित भावनाको परिणाम थियो”, झा भन्छन्, “सद्भावको प्रयास त बल्ल शुरू भएको छ ।”
उनको भनाइमा, मधेशी होस् या पहाडी, जनजाति होस् या गैर–जनजाति, दलित होस् या गैर–दलित, हरेकले म अरू नेपाली समान छु भन्ने अनुभूति गर्न सक्दा मात्र दिगो र वास्तविक सद्भाव हुन्छ ।
त्यसका लागि नेपाली हुनुको परिभाषा फेर्नुपर्ने, संविधानले सुनिश्चित गरेको विविधतायुक्त राज्य निर्माणमा जोड दिनुपर्ने र सबै क्षेत्रमा समावेशी सिद्धान्त लागू गर्नुपर्ने उनको सुझव छ ।
अधिवक्ता झका अनुसार, अहिले देखापरेका तनाव हटाउने सबभन्दा उपयोगी उपाय पनि यही नै हो । हिजोको मौनतालाई नै सद्भाव ठान्ने एकथरीले यो आवाजलाई स्वीकार नगरे पनि नयाँ पुस्तामा जबर्जस्त बढेको समभावको आकांक्षालाई सम्बोधन नगरी नहुने स्थिति देखिएको छ ।
हरेक ठाउँमा अतिवादी स्वर उराल्नेहरूको कमी छैन, तर समान अधिकारको माग गर्दै आएका मधेशी, जनजाति लगायतका समुदायले जोड दिन थालेको एकापसमा सहभावको चाहनामा ध्यानाकर्षण हुनैपर्ने देखिएको छ ।
किनभने यही चाहना र मागले हिजोको मौनता तोडिएको छ । समुदायहरूमा यसरी प्रतिरोधी चेतको विकास हुनु आफैंमा सकारात्मक कुरा पनि हो ।
प्रा. राजेन्द्र विमल २०६३ को मधेश आन्दोलनमा साम्प्रदायिकताको रङ देखिंदा तराई मधेशबाट पहाडी समुदायका परिवारहरू विस्थापित हुने अवस्था आए पनि काठमाडौंमा त्यसको नकारात्मक प्रतिक्रिया नदेखिनुले काठमाडौंको चेतनास्तर र सद्भावको नमूना प्रष्ट भएको बताउँछन् ।
यसपालि चाहिं मधेशले पनि त्यो चेतना प्रस्तुत गरेको ठान्ने उनी छिटपुट घटनालाई समग्रतामा हेर्न नहुने बताउँछन् । “ताप्लेजुङमा एकजना मधेशीमाथि दुव्र्यवहार भयो भने त्यसलाई पहाडी समुदायले नै गरेको भन्न मिल्दैन” प्रा. विमल भन्छन्, “यस्ता घटनाले आपसी सद्भाव र एकतालाई अझ् बलियो बनाउने अवसर दिन्छन् ।”
तर, राजनीतिक नेतृत्वले यसमा विचार पुर्याएकोे देखिंदैन । शासन सञ्चालन र सार्वजनिक ओहोदामा रहेकाहरूले प्रयोग गर्ने भाषा सामाजिक सद्भावका लागि निकै संवेदनशील हुन्छ । तर, त्यो संवेदनशीलताको हेक्का राखेको देखिन्न ।
मधेशी समुदायमा पछिल्लो समय देखिएको आक्रोशको एउटा प्रमुख कारण नेताहरूको भाषण बनेको छ । कतिपय नेताका भाषाले समुदायमा घृणा फैलाउने काम गरेको छ भने कतिको भाषाले आक्रोश ।
“नेताहरू अलि भविष्यमुखी हुनुप¥यो, घृणा र बदलाको भाषा सद्भावका लागि विषै हुन्छ भन्ने ख्याल गर्नुप¥यो”, मानवशास्त्री ढकाल भन्छन्, “अहिले नेपाली समाजलाई सद्भाव, सद्भाव अनि सद्भाव नै चाहिएको छ ।”
आशा नयाँ पुस्तामा
सामाजिक सद्भावमा देखापरेका पछिल्ला चुनौती नयाँ पुस्ताको नयाँ चेतका परिणाम पनि हुन् । यसको हेक्का राख्न नसक्ने हो भने भावी पुस्तालाई समेत पिरोल्नेछ ।
प्रा. विमल अहिले देखाउन सकिएन भने आउँदो पुस्ताका लागिसमेत कारुणिक अवस्था उत्पन्न हुनसक्ने खतरा देख्छन् । “अहिलेको घातक प्रवृत्तिप्रति होश पु¥याएनौं भने यसका दुष्परिणामले दशकौंसम्म पिरोल्न सक्छ” उनी भन्छन्, “राजनीतिका दुवै पक्षले आ–आफ्ना पूर्वाग्रह छाडेर संवाद गर्नुप¥यो, संविधानमा सुधार गर्नुप¥यो र समाजलाई एकताबद्ध हुने आधार दिनुपर्यो ।”
मानवशास्त्री ढकाल भने समाजको विकासक्रमसँगै सद्भावका पनि नयाँ आधार निर्माण हुने भएकाले नयाँ पुस्ताले नै यसलाई अघि बढाउने आशा व्यक्त गर्छन् । सामान्यतः तुच्छ स्वार्थमा नलाग्ने नयाँ पुस्ताले सद्भावका नयाँ आयाम लिएर आउने उनको आशा छ ।
उनका अनुसार, नयाँ पुस्ता राष्ट्रिय जीवनको हर क्षेत्रमा नयाँ सोच लिएर अगाडि आउँछ र त्यसले नयाँ खालको सद्भाव कायम गर्छ । हिमाल, पहाड, मधेश सबै ठाउँका नयाँ पुस्ताबाट धेरै आशा गर्न सकिने ढकाल बताउँछन् ।
“सबै कुरालाई बिग्रेको राजनीतिसँग मात्र जोड्न खोज्नुहुँदैन”, ढकाल भन्छन्, “हाम्रो नयाँ पुस्ताले सद्भावको सांस्कृतिक विरासत पनि बोकेर आउने कुरा बिर्सनुहुँदैन ।”