समाचारबुधबार, कार्तिक ४, २०७२
बस दुर्घटनापछि आगलागीका कारण मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
बाँकेको खासखुस्मा–८ को चप्परगौडीमा भएको बस दुर्घटनालगत्तै आगलागीका कारण मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।
इलाका प्रहरी कार्यालय अमेलियाका प्रहरी निरीक्षक ज्योति शर्माका अनुसार हालसम्म ८ जनाको शवको कङ्काल भेटिएको छ । शवको पहिचान भने डिएनए परीक्षणबाट मात्र गर्ने सकिने उनले जानकारी दिए ।
दुर्घटनामा परी १२ जना घाइते भएको र तीमध्ये तीन जनालाई उपचारका लागि दाङको लमही र अन्यलाई नेपालगन्ज पठाइएको छ ।
बुटवलबाट नेपालगन्ज जाँदै गरेको लु१ख ५८२८ नम्बरको यात्रुबाहक बस दुर्घटना भई पल्टिएको दुई मिनेटमा आगलागी भएको थियो ।
आगलागीबाट बस पूर्णरुपमा जलेर नष्ट भएको छ । प्रहरीले बसमा अमेलिया चेक प्वाइन्टबाट ३३ जना यात्रु सवार रहेको जानकारी गराए पनि बसभित्र कति यात्रु थिए भन्ने अझै एकीन जानकारी नभएको जनाएको छ ।
बस दुर्घटना भएलगत्तै इलाका प्रहरी कार्यालय अमेलियाबाट घटनास्थल पुगेका प्रहरी निरीक्षक ज्योति शर्माले बस पल्टिएलगत्तै आगलागी भएका कारण यात्रुको उद्धार गर्न नसकेको बताए ।
बसमा यात्रुले पेट्रोल तथा सिलिन्डर ग्यास राखेका कारण बस तातिएर आगलागी भएको अनुमान प्रहरीको छ । घाइते केहीले भने प्रहरीसमक्ष चालकको लापर्बाहीका कारण दुर्घटना भएको बताएका छन् । चालक अझै फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन समय लाग्ने र घटनाबारे पूर्ण विवरण आउन बाँकी नै रहेको प्रहरीले बताएको छ ।
रासस
—————————————————————————————————————-
यात्रुबाहक बस दुर्घटना भएर आगो लाग्यो, ७ को मृत्यु
हिमालखबर
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको खासकुश्मा-८ चप्परगौडीमा यात्रुबाहक बस दुर्घटना भई आगो लाग्दा बसमा सवार ७ जनाको मृत्यु भएको छ ।
बुटवलबाट नेपालगञ्जतर्फ जाँदै गरेको लु १ ख ५८२८ नम्बरको बस राजमार्गमा दुर्घटना भर्इ पल्टेपछि बसभित्र राखिएको पेट्रोल र ग्यास सल्किएर आगो लागेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । स्थानीयले बसमा आगोसँगै ठूलो आवाज आएकाले ग्यास सिलिन्डर पड्किएको अनुमान गरेका छन् ।
अहिलेसम्म बसमा सवार ७ जनाको मृत्यु भएकाे पुष्टी भए पनि हताहती संख्या बढ्न सक्ने इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी राजिव वस्नेतले जानकारी दिए । उनका अनुसार करिब ३५ जना यात्रु बोकेर तिव्र गतिमा गुडिरहेको बसका चालकले एक हातले स्टेरिङ समातेर अर्को हातले पानी पिउन लाग्दा बस अनियन्त्रित भई पल्टिएको हाे ।
दुर्घटनामा परी करिब १५ जना घाइते भएका छन् । घाइतेमध्ये केहीलाई उपचारका लागि दाङ र केहीलाई कोहलपुर लगिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आगो नियन्त्रणमा लिइसकेका छन् । राति ८ बजेसम्म पनि उद्दार कार्य जारी रहेको डिएसपी बस्नेतले बताए । यात्रुका शव जलेकाे हुँदा पहिचानमा पनि कठिनाइ भएकाे प्रहरीले जनाएकाे छ ।
भारतको नाकाबन्दीले मुलकुमा इन्धनको अभाव भएसँगै यात्रुहरुले पाएसम्मको इन्धन बसबाटै ओसारेर भए पनि गर्जो टार्ने गरेका छन् ।
केशव राना, बाँके
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
